काठमाडौं । भक्तपुर डोजो पाँच स्वर्ण, तीन रजत र तीन कांस्य पदकका साथ पाँचौं उपत्यकाव्यापी कराते प्रतियोगिताको च्याम्पियन बनेको छ ।
विद्या आर्जन सितोरियो शाखा डोजोको आयोजनामा बिहीबार भएको प्रतियोगितामा तीन स्वर्ण, सात रजत र तीन कांस्य पदककासाथ नग्देश डोजो दोश्रो भयो । तेश्रो स्थानको बूढानीलकण्ठ डोजोले तीन स्वर्ण, दुई रजत र पाँच कांस्य पदक जित्यो।
भक्तपुरको आदर्श चोकस्थित विद्या आर्जन माविमा भएको प्रतियोगिताको पुरुषमा भक्तपुरका अभिषेक तामाङ तथा महिलामा नग्देशकी अस्मिता तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।
पुरुषमा विद्या आर्जनका रोजित कासुला तथा महिलामा माउन्ट भ्यालीकी सुजिता तामाङ उदीयमान खेलाडी चुनिए । भौखेल डोजो अनुशासित टिम घोषित भयो ।
विजेतालाई नेपाल कराते महासंघका महासचिव दावा गुरुङ, आयोजक डोजोका प्रमुख एवं अध्यक्ष सूर्यबहादुर तामाङलगायतले पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले गरेका थिए ।
सो अवसरमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठ, १०औं सागका कांस्य पदक विजेता रामशरण त्वातीलगायतलाई सम्मान गरिएको थियो ।
प्रतियोगितामा करिब २०० खेलाडीले एकल काता र कुमुतेसहित २१ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।