ललितपुर। दोश्रो उपत्यकाव्यापी कराते प्रतियोगिताको पहिलो दिन शनिबार लुभु डोजोले ६ स्वर्ण पदक जितेको छ ।
पहिलो दिन ११ स्वर्णको छिनोफानो हुँदा लुभुसहित धनबहादुर प्रतिष्ठानले तीन तथा बाल अंकुर र नरहरिपुर डोजोले समान एक स्वर्ण पदक जितेको आयोजक प्रयागपोखरी डोजोका प्रशिक्षक विकास महर्जनले जनाएका छन् ।
मंगलबजारमा भएको प्रतियोगिताको पुरुष एकल कातामा सागर मोक्तान, पुरुष २० केजीमा सुरोज तामाङ, पुरुष ३० केजीमा मिराल लिम्बू, पुरुष ३५ केजीमा रोशन चौधरी, महिला ३० केजीमा सन्जु तामाङ र महिला ३५ केजीमा सरगम सुनुवारले लुभुलाई स्वर्ण पदक दिलाए ।
धनबहादुर प्रतिष्ठानका एलिना थिङले महिला एकल काता, रिया भुलले महिला २० केजी र स्नेहा तामाङले महिला २५ केजीमा पहिलो स्थान हात पारे । बाल अंकुरका सन्देश जिम्बाले पुरुष २५ केजी तथा महिला ५५ केजीमा नरहरिपुरकी दिया पुन मगरले स्वर्ण चुमे ।
प्रतियोगिताको बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले उद्घाटन गरे ।
प्रतियोगितामा करिब ४ सय खेलाडीले विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । बाँकी ९ स्पर्धाको फाइनल प्रतियोगिताको अन्तिम दिन आइतबार हुनेछ