काठमाडौं । एन्फाले आइतबार निर्वाचन स्थगित गर्न नसकिने भन्दै पत्राचार गरेपछि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले पुनः २४ घण्टे स्पष्टिकरणका लागि पत्र काटेको छ ।
राखेपले बिहीबार यही चैत्र १३ गतेका लागि तय भएको निर्वाचन रोकर तीन दिनभित्र लिखित जानकारी गराउन एन्फालाई पत्र काटेको थियो । एन्फाले आइतबार यसको जवाफमा आइतबार किरण राईद्धारा हस्ताक्षरित पत्रमा निर्वाचन राखेपले भनेजस्तो विधानविपरित नभएको उल्लेख गर्दै कुनै पनि हालतमा रोक्न नसक्ने कुरा उल्लेख गरेको थियो । दुई दिनपछि राखेपले एन्फालाई पुनः विस्तृत स्पष्टिकरण माग गरेको हो ।
मंगलबार काटिएको पत्रमा राखेपले एन्फालाई तोकिएकै समयसिमाभित्र उचित कारणसहित लिखित स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ । पत्रमा आवश्यक कागजात, निर्णयको आधार र प्रक्रियागत स्पष्टता समेत समावेश गर्न भनिएको छ ।
त्यस्तै एन्फाबाट २४ घण्टाभित्र सन्तोषजनक जवाफ नआए थप प्रशासनिक तथा कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनी राखेपले दिएको छ ।
