काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कीर्तिमानी योगफल तयार गरेको छ ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा पुलिसले एपिएफविरुद्ध ३५५ रनको कीर्तिमानी योगफल तयार गरेको हो । प्रतियोगिताको इतिहासमा बनेको यो सर्वाधिक ठूलो योगफल हो ।
यसअघि एपिएफले २०१८ को दोस्रो संस्करणमा तत्कालिन प्रदेश नंम्बर २ विरुद्ध ३३९ रनको योगफल तयार गरेको थियो ।
एपिएफले टस जितेर बलिङ रोजे पछि पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३५५ रनको विशाल योगफल तयार गरेको थियो ।
पुलिसका लागि शंकर रानाले सर्वाधिक ६१ रन बनाए । उनले ५४ बलको सामना गरेर ५ चौका र ४ छक्का प्रहार गरे । ओपनर दिनेश खरेल ५२ बलमा ६०, आरिफ शेख ४२ बलमा ५० तथा रशिद खानले ४२ बलमा ४४ रन बनाउँदै आउट भए । दिल्शाद अलि ३० बलमा ५१ रनमा अविजित रहे ।
एपिएफका लागि कमल सिंह ऐरी र अमरसिंह राउटेलाले समान २ तथा कप्तान रोहित पौडेल, नन्दन यादब, युवराज खत्रीले समान १ विकेट लिए ।
दुवै टोलीहरु प्रतियोगितामा दोस्रो खेल खेल्न लागेका हुन् । अघिल्लो संस्करणको विजेता पुलिस पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो ।
एपिएफले भने पहिलो खेलमा स्थानिय टोली बागमती प्रदेशलाई पराजित गरेको थियो ।
