काठमाडौं । चलिरहेको एन्फा राष्ट्रिय लिग र सहिद स्मारक महिला लिग स्थगन भएपछि क्लबलाई आर्थिक र मानसिक रुपमा घाटा भएको ध्यानाकर्षण गर्न संकटा एफसीले पत्रकार सम्मेलन गरेको छ ।
सोमबार टेवहालस्थित आफ्नो क्लब भवनमा संकटाले पत्रकारसमक्ष आफ्ना पीडा पोखेको हो । आफूहरु फुटबल विकास तथा प्रवद्र्धन गर्ने उद्धेश्यले निरन्तर लागिरहँदा पनि नियामक निकायबाट अन्याय भएको संकटाले बताएको छ ।
एन्फाले विदेशी खेलाडीको श्रम स्विकृतिको मुद्धाका कारण चलिरहेका लिग अनिश्चितकालका लागि स्थगित गर्दा आफूहरुलाई आर्थिक र मानसिक रुपमा घाटा भएको संकटाले बताएको छ ।
श्रम स्वीकृतिका लागि आवश्यक सम्पूर्ण कागजातहरु प्रतियोगिता प्रारम्भ हुनुअघि नै एन्फामा पेश गर्दा पनि आफूहरुलाई सरोकारवालाले दोषी देखाएकोमा संकटाले दुःख व्यक्त गरेको छ ।
क्लबले महिला लिगका लागि भनेर चार जना विदेशी खेलाडी अनुबन्ध गरेको थियो । अहिले यी खेलाडीकै श्रम स्विकृतिलाई लिएर लिग रोकिएको छ । रोकिएको लिग कहिले होला भन्ने टुंगो नहुँदा क्लबले दुई हप्तासम्म कुर्ने प्रतिक्रिया दिएको छ ।
‘हामी दुई हप्तासम्म कुर्नेछौं । दुई हप्तासम्म पनि लिगको छिनोफानो नुहने हो भने हामीले सबै विदेशी खेलाडीलाई घर पठाउनेछौं,’ क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले भने ।
