काठमाडौं । बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई बलियो लक्ष्य दिएको छ ।
तल्लो मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा बागमतीले गण्डकीलाई जितका लागि २९५ रनको लक्ष्य दिएको हो ।
टस जितेर गण्डकीले बलिङ रोजेपछि पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९४ रनको योगफल तयार गरेको हो ।
बागमतीका लागि उपकप्तान इशान पाण्डेले सर्वाधिक ७१ रन बनाए । उनले ६१ बलमा ४ चौका र २ छक्का प्रहार गरे । ओपनर आशुतोष घिरैया ८७ बलमा ५९ तथा शुभ कंसकार २८ बलमा ४४ रनमा आउट भए । शिभम तिवारी १८ तथा उत्तम थापा मगर ३० र विवृक राना मगर २७ रनमा आउट हुँदा कप्तान सन्दीप लामिछाने २६ रनमा अविजित रहे ।
गण्डकीका लागि कमल परियारले २ तथा विपिन खत्री, अंकित न्यौपाने, सिव्रिन श्रेष्ठ र सुवास भण्डारीले समान १ विकेट लिए ।
दोस्रो खेल खेल्दै गरेको बागमती पहिलो जितको खोजिमा रहेको छ । पहिलो खेलमा बागमती विभागीय टोली एपिएफसँग फराकिलो अन्तरले पराजित भएको थियो ।
गण्डकी भने पहिलो खेलमा सुखद नतिजा निकाल्ने लक्ष्यमा छ ।
