काठमाडौं । नेपालले साफ यु-२० च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । आइतबार उद्घाटन खेलमा नेपालले भुटानमाथि २–१ को संघर्षपूर्ण जित हासिल गर्यो ।
मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा सम्पन्न समूह ‘ए’को खेलमा नेपाललाई जित दिलाउन स्ट्राइकर सुजन डंगोल र अट्याकिङ मिडफिल्डर सुवास वमले गोल गरे । भुटानका लागि धेनदुप ग्यालसेनले गोल फर्काए ।
खेलको तेस्रो मिनेटमै नेपालले ‘इन्डाइरेक्ट’ फ्रिकिक प्राप्त गरेको थियो । पाँचौं मिनेटमा उक्त अवसरलाई सुजनले सदुपयोग गरेका हुन् ।
भुटानी गोलकिपर तानदीन पेन्जोरले आफ्नै सहकर्मीले दिएको बललाई हातले छुँदा नेपालले इन्डाइरेक्ट फ्रिकिक पाएको थियो । पाएको अवसरमा नेपालले चलाखीपूर्ण ढंगबाट लियो । पाँच खेलाडी संलग्न रहेको बलमा अन्तिम प्रहार सुजनको रह्यो । सुजनले ‘न्यर पोस्ट’मा बललाई जाली चुमाए ।
खेलको १४औं मिनेटमा नेपाली गोलकिपर पेम्बा नोर्बु भोटेलाई फउल गर्न पुग्दा भुटान १० खेलाडीमा सिमित भयो । थिनले येजर दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । ‘वान म्यान एडभान्टेज’ को फाइदा भने नेपालले लिन सकिरहेको छैन । इन्जुरी समयमा कप्तान धर्वेन्द्र कुंवर गोलको निकै करिब रहे । तर, दोस्रो बारमा उनले गरेको ‘अटेम्प्ट’ बाहिरियो ।
खेलको ५२औं मिनेटमा सुवासले बक्स बाहिरबाट सनसनीपूर्ण ढंगबाट गोल गरे । उनको प्रहारले पहिलो बारको टप कर्नर जाली चुमेको थियो । त्यसअघि दोस्रो हाफको सुरुआती मिनेटमा धर्वेन्द्रले निशान राज लावतको फ्रिकिक क्रसलाई सदुपयोग गर्न सकेनन् । उनको ‘फस्र्ट अटेम्प्ट’ प्रहार बाहिरिएको थियो ।
निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा धेनदुपले सुन्दर गोल गर्दा भुटानले खेलमा फर्किने संकेत देखायो । उनले केल्देन डोर्जेको कटब्याकलाई सदुपयोग गरे अनि दोस्रो बारमा अटेम्प्ट गरे । उनको प्रहारलाई पेम्बाले रोक्न सकेनन् ।
त्यसपछि निर्धारित समयको ७ मिनेट र थप गरिएको ६ मिनेटमा नेपालमाथि दबाब बनाएपनि भुटानले गोल गर्न भने सकेन ।
