काठमाडौं । यही चैत १२ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भनिएको हङकङविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै खेलका बारेमा जानकारी गराएको हो ।
एन्फाका अनुसार राष्ट्रिय खेलकुद परिषद (राखेप)ले खेलमैदान तथा रंगशालाका लागि स्विकृति नदिएकाले खेल स्थगित गर्नुपरेको हो ।
राखेपसँग एन्फाले फागुन १० गते मैत्रीपूर्ण खेलका लागि रंगशाला र खेल मैदानका लागि स्विकृति मागेको थियो । राखेपको प्रतिक्रिया विनानै एन्फाले चैत ३ गते पुनः रंगशालाको फ्लडलाइठ, स्कोर बोर्ड र अन्य पूर्वाधारहरु खेलका लागि उपलब्ध गराइदिन पत्र पठाएको थियो । तर, प्रतियोगिता मुखैमा आइपुग्दा राखेपले यसका लागि स्विकृति नदिँदा एन्फा खेल रद्ध गर्न बाध्य भएको हो ।
हङकङविरुद्धको मैत्रीपूर्ण खेल एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलका लागि वार्म अपका रुपमा लिइएको थियो । नेपाली टोली अहिले पहिलो चरणको तयारी गरिरहेको छ । एसियन कप समीकरणबाट बाहिरिसकेको नेपालले एएफसी छनोटको तेस्रो चरणको अन्तिम खेलमा मार्च ३१ (चैत्र १७ गते)मा लाओसको सामना गर्दैछ ।
लाओसविरुद्धको खेल पनि नेपालमै हुनुपर्ने थियो । तर, भौतिक पूर्वाधारमा देखिएका सामान्य कमजोरी सुधार्न एन्फा उदासिन भएपछि दशरथ रंगशाला एएफसीबाट अयोग्य ठहर भएसँगै नेपाल लाओस भ्रमण गर्न बाध्य भएको हो ।
