काठमाडौं । नेपालका स्टार अलराउण्डर क्रिकेटर दीपेन्द्रसिंह ऐरीले सहभागीता जनाउन लागेको पाकिस्तान सुपर लिग (पिएसएल) २०२६ दर्शक बिनाको खाली रंगशालामा आयोजना हुने भएको छ ।
आइतबार पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष मोसिन नक्वीले पिएसएलका खेलहरु दर्शकको उपस्थिती बिना हुने जानकारी गराए । पश्चिम एसियामा जारी संकटका कारण पिएसएल खाली रंगशालाहरूमा हुन लागेको समेत उनले बताए ।
यसअघि खेलतालिकामा बताइए जस्तो ५ वटा रंगशालामा नभइ अब सबै खेलहरु लाहोर वा कराँचीमा हुनेछन् । नक्वीले अन्तिम समयमा इण्डियन प्रिमियर लिग (आइपीएल) का लागि पिएसएल छोडेका खेलाडीहरू विरुद्ध कानुनी कारबाही गर्ने समेत बताए । पिएसएलमा दिपेन्द्र इस्लामाबाद युनाइटेडमा अनुबन्ध भएका छन् ।
यस पटक पिएसएल छोडी आइपिएल रोज्न जिम्बावेका ब्लेसिङ मुजाराबानी सुरुवात गरेकोमा श्रीलंकाका दासुन शनाका, वेस्ट इण्डिजका गुडाकेश मोटी, अस्ट्रेलियाका जेक फ्रेजर-म्याकगर्क र स्पेन्सर जोनसन तथा दक्षिण अफ्रिकाका ओटनिल बार्टम्यान रहेका छन् ।
