काठमाडौं । थाइल्याण्डमा भइरहेको महिला एसिया कप राइजिङ स्टार्समा युएईले नेपाललाई पराजित गरेको छ । राइजिङ स्टार्सको दोस्रो खेलमा नेपाललाई युएईले १८ रनले पराजित गरेको हो ।
टस जितेर नेपालले पहिला बलिङ रोजेपछि ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८९ रनको योगफल तयार गरेको थियो ।
युएईको जितमा कप्तान इशा ओझाले ६३ बलमा १४ चौका र ९ छक्काको सहयोगमा १ सय २५ रनको शतकीय ईनिङ खेलिन् । ओझाको १ सय ११औं ट्वान्टी २० आई खेलमा यो छैठौं शतक बनाइनन् । सुरुवात राम्रो गरेको नेपालले पावर प्लेमा महत्वपुर्ण ३ विकेट हात पारेको थियो । पछिल्लो दश ओभरमा नेपालले १ सय ४७ रन खर्चिएको थियो ।
हिना चन्डानीले ३८ बलमा ७ चौका सहयोगमा नट आउट ४५ रन बनाइन् । चौथो विकेटका लागि हिना र इशाले १ सय ६७ रनको शतकीय साझेदारी गरे । नेपालका लागि मनिषा उपाध्यायले २ तथा कविता कुवँरले १ विकेट लिइन् ।
युएईले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन मात्र बनाउन सक्यो । नेपालका लागि ओपनर सम्झना खड्काले ३९ बलमा ११ चौकाको साथमा ५८ रनको अर्धशतकीय इनिङ खेलिन् । दोस्रो विकेटका लागि कप्तान पूजा महतासँग सम्झनाले १ सय ४ रनको शतकीय साझेदारी गरिन् । पूजाले ३५ बलमा ८ चौका र १ छक्काको ५३ रन जोडिन् ।
अर्की ओपनर बिन्दु रावल १८ बलमा १६ रन बनाउँदै आउट हुँदा सिता राना मगर १५ बलमा २२ रनमा नट आउट रहिन् । युएईका लागि सुरक्षा कोटे र हेना चण्डानीले समान २ तथा इन्दुजा नन्दाकुमारीले १ विकेट लिइन् ।
नेपाल लगातार दुई हार सहित प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ । नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग पराजित भएको थियो । पहिलो खेलमा भारत ‘ए’ लाई पराजित गरेको युएईको शतप्रतिशत जित पश्चात सेमिफाइनल सम्भावना बलियो भएको छ ।
