काठमाडौं । थाइल्याण्डमा भइरहेको महिला एसिया कप राइजिङ स्टार्समा युएईले नेपाललाई १ सय ९० रनको लक्ष्य दिएको छ । राइजिङ स्टार्सको दोस्रो खेलमा नेपालले युएईबाट जितका लागि १ सय ९० रनको लक्ष्य पाएको हो ।
टस जितेर नेपालले पहिला बलिङ रोजेपछि पहिले पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८९ रनको योगफल तयार गर्यो ।
युएईका लागि कप्तान इशा ओझाले ६३ बलमा १४ चौका र ९ छक्काको सहयोगमा १ सय २५ रनको शतकीय ईनिङ खेलिन् । ओझाको १ सय ११औं ट्वान्टी २० आई खेलमा यो छैठौं शतक हो । सुरुवात राम्रो गरेको नेपालले पावर प्लेमा महत्वपुर्ण ३ विकेट हात पारेको थियो । पछिल्लो दश ओभरमा नेपालले १ सय ४७ रन खर्चिएको थियो ।
हिना चन्डानीले ३८ बलमा ७ चौका सहयोगमा नट आउट ४५ रन बनाइन् । चौथो विकेटका लागि हिना र इशाले १ सय ६७ रनको शतकीय साझेदारी गरे । नेपालका लागि मनिषा उपाध्यायले २ तथा कविता कुवँरले १ विकेट लिइन् ।
नेपाल प्रतियोगिताको दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग पराजित भएको थियो । पहिलो खेलमा भारत ‘ए’ लाई पराजित गरेको युएई नेपाललाई हराउँदै सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ ।
