काठमाडौं । चीनको युनान प्रान्तीय युवा टोलीविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय यु–२० महिला टोलीको घोषणा भएको छ ।
आइतबार मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले गत वर्षको अगस्टमा सम्पन्न एएफसी यु-२० एसियन कप छनोट खेलेका १९ खेलाडीलाई समेट्दै ३० सदस्यीय प्रारम्भिक टोली तयार पारेका थिए । दुई दिनपछि अन्तिम टोली घोषणा भएको हो ।
प्रारम्भिक टोलीमा यही शनिबारबाट पोखरामा हुने साफ यु(१९ च्याम्पियनसिपका लागि अन्तिम टोलीमा अटाउन नसकेका चार खेलाडीलाई पनि समावेश गरिएको थियो । तर, यी खेलाडीले यु–२० को अन्तिम टोलीमा पनि स्थान बनाउन सकेनन् ।
चिनियाँ नयाँ वर्षको उपलध्यमा हुन लागेको मैत्रीपूर्ण खेल एन्फा, ‘स्कुल अफ फिजिकल एजुकेशन अफ युनान युनिभर्सिटी’ र नेपाल ओभरसीज चाइनिज एसोसिएसनको संयुक्त आयोजनामा हुँदैछ ।
पछिल्ला वर्षहरुमा यु-२३ पुरुष टोलीहरुबीच मैत्रीपूर्ण खेल भएका थिए । यसपाली रंगशालामा महिला फुटबलको रौनक हुनेछ ।
गत वर्षको अगस्टमा गुरुङले अन्तिमपटक एएफसी यु-२० एसियन कप छनोटमा राष्ट्रिय महिला टोलीको टचलाइन सम्हालेका थिए । पाँच महिनापछि उनलाई फेरि जिम्मेवारी दिइएको हो ।
गुरुङलाई सहायक प्रशिक्षक सन्देश कुमार श्रेष्ठ, गोलकिपर प्रशिक्षक सञ्जीव जोशी र टिम व्यवस्थापक दीपा क्षेत्रीले साथ दिइरहेका छन् ।
मैत्रीपूर्ण खेल यही जनवरी ३१ शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

