काठमाडौं । म्यानचेष्टर सिटीले इङ्लिस प्रिमियर लिगमा उल्भ्समाथि २–० को सहज जित निकालेको छ ।
शनिबार घरेलु मैदान इत्तिहादमा भएको खेलमा सिटीलाई जित दिलाउन ओमार मार्मोउस र एन्टोइन सेमेन्योले समान एक गोल गरेका थिए । पेप ग्वार्डिओलाको सिटीले रेलिगेशन क्षेत्रमा रहेको टोलीविरुद्ध दुबै गोल पहिलो हाफमै गरेको थियो ।
२३ खेलमा १४औं जितपछि सिटीले ४६ अंकसहित दोस्रो स्थान बलियो बनाएको छ । २२ खेल खेलेको आर्सनल ५० अंकसहित शीर्ष स्थानमा छ । पराजित उल्भ्स भने ८ अंकसहित तालिकाको पुछारमा छ ।
खेलको छैटौं मिनेटमै ओमारले सिटीलाई अग्रता दिलाए । उनले म्याथ्युस नुनेसको पासमा पहिलो गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा सेमेन्योले दोस्रो गोल गरे । उनले बर्नान्डो सिल्भाको पास सदुपयोग गरेका थिए ।
सिटी दुई खेलपछि लयमा फर्किएको छ । पछिल्लो खेलमा युनाइटेडसँग २–० ले पराजित भएको सिटी त्यसअघि च्याम्पियन्स लिगमा पनि पराजित भएको थियो ।
राति नै भएको अन्य खेलमा फुलहमले ब्राइटनलाई २–१, वेष्टहम युनाइटेडले सन्डरल्यान्डलाई ३–१ ले पराजित गरे । यस्तै, बर्नलीले भने टोटनहमलाई २–२ को बराबरीमा रोक्दै अंक खोसेको थियो ।
