काठमाडौं । घरेलु फुटबलका अनुभवी खेलाडी कुल्दीप कार्कीले सातदोबाटो युवा क्लबलाई आफ्नो नयाँ गन्तव्य बनाएका छन् । उनी आसन्न एन्फा राष्ट्रिय लिगका लागि सातदोबाटोमा अनुबन्ध भएका हुन् ।
बिहीबार सातदोबाटोले सामाजिक सञ्जालमार्फत रक्षक कुल्दीपलाई अनुबन्ध गरेको जानकारी गराएको हो ।
गत वैशाखमा सम्पन्न नेपाल सुपर लिग(एनएसएल)को तेस्रो संस्करण कुल्दीपले काठमाडौं रेजर्सको कप्तानी नेतृत्व सम्हालेका थिए । दोस्रो संस्करणमा पनि उनले नै काठमाडौंको ‘क्याप्टेन आर्मब्यान्ड’ लगाएका थिए । त्यसअघि उनले पहिलो संस्करणमा चितवन एफसीबाट खेलेका थिए ।
एक महिनाअघि सम्पन्न एन्फा प्रेसिडेन्ट लिगमा कुल्दीपले चित्लाङ एफसीको प्रतिनिधित्व गरेका थिए । उनकै कप्तानीमा चित्लाङ टोली राष्ट्रिय लिगका लागि छनोट भयो ।
तीन वर्षअघि सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबलाई लिड गरेका कुल्दीपले यसपाली सातदोबाटोबाट खेल्ने निर्णय गरेका हुन् । उनका संकटा सहकर्मी सुरज जिउ ठकुरीलाई पनि सातदोबाटोले बुधबार मात्रै क्लबमा भित्र्याएको थियो । स्मरण रहोस् ! सुरज र कुल्दीप दुबैले त्यसअघिको लिगमा जावलाखेल युवा क्लबबाट खेलेका थिए ।
कुल्दीप सातदोबाटो भित्रिने चौथो चर्चित घरेलु अनुहार हुन् । सुरजसँगै क्लबले लेफ्टब्याक पासाङ लामा र फरवार्ड समीर तामाङलाई क्लबमा भित्र्याएको छ ।
त्यस्तै गोलपोस्टको जिम्मेवारी ‘होम ब्वय’ अभिषेक बराललाई नै दिइएको छ । अभिषेकले क्लबमा निरन्तरता दिने जानकारी सातदोबाटोले बिहीबारनै दिएको हो ।

राष्ट्रिय लिग यही पुस २५ बाट सुरु हुँदैछ । प्रतियोगितामा शीर्ष डिभिजनका १३ र प्रेसिडेन्ट लिगबाट छनोट भएका चारगरि कूल १७ टोलीको सहभागिता रहनेछ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग होम एण्ड अवे स्वरुपमा गर्ने, एउटै मैदानमा गर्ने र राष्ट्रिय लिग गर्ने जस्ता विभिन्न विकल्पमाथि पटकपटक विवादास्पद छलफल तथा आन्दोलनहरुपछि एन्फाले हालै क्लबहरुसँगको सहमतीमा पुष २५ बाट राष्ट्रिय लिग गर्ने निर्णय गरेको थियो ।
राष्ट्रिय लिगमा जिल्ला र प्रदेश च्याम्पियन हुँदै आएका टिमबीचको प्रतिस्पर्धा एन्फा प्रेसिडेन्ट्स लिगका शीर्ष ४ तथा अघिल्लो शीर्ष डिभिजन लिगका शीर्ष ६ टोली गरि १० टिमले मात्र खेल्न पाउने प्रावधान थियो ।
तर एन्फा र क्लबहरुको सहमतीपछि राष्ट्रिय लिगका लागि छनोट नै नभएका बाँकी ‘ए’ डिभिजन लिगका टिमले पनि खेल्न पाउने भएका हुन् । जसअनुरुप शीर्ष डिभिजनका हिमालयन शेर्पा बाहेक सबै १३ क्लब र प्रेसिडेन्ट्स लिगका शीर्ष चार गरि १७ टिमको सहभागितामा राष्ट्रिय लिग आयोजना हुँदैछ । एन्फाले यसका लागि टिम दर्ता फारम खुला गरेको थियो ।
