काठमाडौं । घरेलु फुटबलका उदीयमान मिडफिल्डर सन्तोष खत्रीले आसन्न एन्फा राष्ट्रिय लिगमा एपिएफ फुटबल क्लबको जर्सी लगाउने भएका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ एफसीले सन्तोषलाई क्लबमा भित्र्याएको फोटो पोस्ट गरेको हो ।
गत वैशाखमा सम्पन्न नेपाल सुपर लिग(एनएसएल)को तेस्रो संस्करण सन्तोषले च्याम्पियन ललितपुर सिटी एफसीको प्रतिनिधित्व गरेका थिए । ललितपुरको उपाधि रक्षा अभियानमा महत्वपूर्ण भूमिका खेलेका सन्तोष प्रतियोगिताकै उदीयमान खेलाडी घोषित भएका थिए । एनएसएलको दोस्रो संस्करण उनले स्पोर्टिङ मेची दि इलामबाट खेलेका थिए ।
गत सेप्टेम्बरमा ताजकिस्तानमा सम्पन्न एएफसी यु–२३ एसियन कप छनोटमा उनी नवीन न्यौपानेको नेतृत्वमा रहेको टोलीका प्रमुख खेलाडी थिए । तीन वर्षअघि सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगमा कुपन्डोलको फ्रेन्ड्स क्लबबाट खेलेका सन्तोषले यसपाली न्यौपानेका सहकर्मी राजेन्द्र तामाङको नेतृत्वमा राष्ट्रिय लिग खेल्दैछन् ।
एपिएफले बिहीबारनै नेपाली राष्ट्रिय महिला फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक तामाङलाई टचलाइनको जिम्मेवारी दिएको घोषणा गरेको थियो ।

राष्ट्रिय लिग यही पुस २५ बाट सुरु हुँदैछ । प्रतियोगितामा शीर्ष डिभिजनका १३ र प्रेसिडेन्ट लिगबाट छनोट भएका चारगरि कूल १७ टोलीको सहभागिता रहनेछ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग होम एण्ड अवे स्वरुपमा गर्ने, एउटै मैदानमा गर्ने र राष्ट्रिय लिग गर्ने जस्ता विभिन्न विकल्पमाथि पटकपटक विवादास्पद छलफल तथा आन्दोलनहरुपछि एन्फाले हालै क्लबहरुसँगको सहमतीमा पुष २५ बाट राष्ट्रिय लिग गर्ने निर्णय गरेको थियो ।
राष्ट्रिय लिगमा जिल्ला र प्रदेश च्याम्पियन हुँदै आएका टिमबीचको प्रतिस्पर्धा एन्फा प्रेसिडेन्ट्स लिगका शीर्ष ४ तथा अघिल्लो शीर्ष डिभिजन लिगका शीर्ष ६ टोली गरि १० टिमले मात्र खेल्न पाउने प्रावधान थियो ।
तर एन्फा र क्लबहरुको सहमतीपछि राष्ट्रिय लिगका लागि छनोट नै नभएका बाँकी ‘ए’ डिभिजन लिगका टिमले पनि खेल्न पाउने भएका हुन् । जसअनुरुप शीर्ष डिभिजनका हिमालयन शेर्पा बाहेक सबै १३ क्लब र प्रेसिडेन्ट्स लिगका शीर्ष चार गरि १७ टिमको सहभागितामा राष्ट्रिय लिग आयोजना हुँदैछ । एन्फाले यसका लागि टिम दर्ता फारम खुला गरेको थियो ।
