काठमाडौं । भाँचिएको कूर्कुच्चा र फिबुलाको सोमबार शल्यक्रिया गराएपछि लिभरपुलका स्ट्राइकर एलेक्जेन्डर इसाक लामो समय मैदानबाहिर हुने भएका छन् ।
बेलायती कीर्तिमानी १७ करोड डलरमा लिभरपुल भित्रिएका इसाक शनिबार प्रिमियर लिगमा टोटनहममाथि जित हासिल गरेको खेलमा घाइते भएका थिए । लिभरपुलको पहिलो गोल गर्ने क्रममा विपक्षी खेलाडीको ट्याकलमा परेर इसाकलाई चोट लागेको थियो ।
इसाकको अनुपस्थितीले लिभरपुलको सिजनलाई मात्र नभई स्विडेनको विश्वकप छनोट यात्रालाई पनि प्रभाव पार्नेछ । युरोपियन प्लेअफमा स्विडेनले आगामी मार्चमा युक्रेनको सामना गर्नुपर्नेछ ।
‘इसाकको चोटको वास्तविक अवस्थाको जाँच भएपछि सोमबार शल्यक्रिया पनि सम्पन्न भइसकेको छ,’ लिभरपुलले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उपचार सुरु भइसकेको छ । अब प्रत्येक दिन उनमा सुधार आउनेछ । तर उनी कहिले मैदान फर्किन्छन् भन्ने चाँही अहिल्यै भन्न सकिन्न ।’
न्युक्यासलबाट कीर्तिमानी रकममा सरुवा भएर लिभरपुल आएपछिका दिनहरु २६ वर्षे फरवार्डका लागि त्यति सुखद रहन सकेनन् । ढिलोगरी मात्र सरुवा प्रक्रिया पूरा भएका कारण उनले टिमसँग प्रिसिजनमा तयारी गर्ने मौका पाएका थिएनन् । तथापि आर्ने स्लटको टिममा विस्तारै अभ्यस्त हुँदै जाने क्रममा अक्टोबरमा उनको काँछमा चोट लागेको थियो । लिभरपुलको समस्याग्रस्त समयमा उनले टोलीका लागि प्रिमियर लिगमा १० पटकमात्र पहिलो रोजाइबाट खेलेका छन् । यसक्रममा उनले ३ गोल गरेका छन् ।
इसाकको चोटले लिभरपुलका लागि आगामी दिनमा थप समस्या ल्याउनेछ । किनकी अफ्रिका कप अफ नेशन्समा इजिप्टका लागि खेल्न गएका कारण मोहम्मद सालाहको साथ यसअघि नै क्लबसँग छैन ।
