काठमाडौं । म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार सम्पन्न ९ गोलको ‘थ्रीलर म्याच’मा फुलहम एफसीविरुद्ध ५-४ को रोमाञ्चक जित निकालेको छ ।
जितसँगै १४ खेलमा २८ अंक जोडेको सिटी दोस्रो स्थानमा छ । पराजित फुलहम समान खेलबाट १७ अंकका साथ १५औं स्थानमा छ ।
मंगलबार कार्भेन कटेजमा पाहुना टोली सिटीलाई जित दिलाउन फिल फोडेनले दुई तथा एर्लिङ हालान्ड र तिज्जानी रेइजन्डर्सले समानएक गोल गर्दा एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो । फुलहमका लागि स्यामुएल चुकवेजले दुई तथा एमिल स्मिथ रो र एलेक्स इवोबीले गोल फर्काए ।
खेलको १७औं मिनेटमा हालान्डको गोलमार्फत सिटीले अग्रता लिएको थियो । ३७औं मिनेटमा रेइन्जडर्सले टोलीको अग्रता दोब्बर बनाए ।
फोडेनले ४४औं मिनेटमा गोल गर्दा सिटीको अग्रता ३-० मा पुग्यो । पहिलो हाफको इन्जुरी समयमा रोले फुलहमका लागि पहिलो गोल फर्काए ।
दोस्रो हाफ सुरु भएको तीन मिनेटमै फोडेनले व्यक्तिगत दोेस्रो तथा टोलीका लागि चौथो गोल गरे । ५४औं मिनेटमा स्यान्डर बर्गेबाट आत्मघाती गोल हुन पुग्दा सिटी ५-१ ले अगाडि बढ्यो ।
त्यसपछि लगातार तीन गोल गर्दै फुहलमले खेलमा फर्किने प्रयास गरे पनि सफल भने हुन सकेन । ५७औं मिनेटमा इवोबीले गोल गर्दा खेल ५-२ को स्थितीमा पुग्याे ।
चुकवेजले ७२ र ७८औं मिनेटमा गोल गरेपछि खेल ५-४ को स्थितीमा सकियो ।
मंगलबारै सम्पन्न अन्य खेलमा एभरटनले बर्नमाउथलाई १-० ले पराजित गर्दा टोटनहम र न्युक्यासल युनाइटेड २-२ को बराबरीमा रोकिए ।
