काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा बिहीबार दुईवटा खेल हुँदैछन् । बिहान ११ः४५ बजे हुने पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजसँग प्रतिस्पर्धा गर्नेछ । दिउँसो ४ बजे चितवन राईनोजले प्लेअफमा स्थान बनाइसकेको सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।
पछिल्ला तीन खेलमा अपराजित काठमाडौं आठ अंकका साथ अंकतालिकाको दोस्रो स्थानमा छ । काठमाडौं लिग चरणको आफ्नो अन्तिम खेल खेल्दैछ । पोखरालाई हराए काठमाडौं प्लेअफमा त पुग्नेछ नै, क्वालिफायरमा आफ्नो दाबेदारी प्रस्तुत गर्नेछ । क्वालिफायर पुग्ने टोलीलाई फाइनल पुग्न अन्य दुई टोलीभन्दा सजिलो हुने कुरामा काठमाडौं सजग छ । तर, पोखरा सहज प्रतिद्धन्द्धी होइन ।

पछिल्लो खेलमा पोखराले कर्णाली याक्सलाई ३४ रनले हराएको थियो । सुरुआती ब्याटिङ गरेको पोखराले २०१ को योगफल खडा गरेको थियो । ओपनर एडम रसिङ्टनले पोखराका लागि शतक प्रहार गरेका थिए । त्यस्तै इङ्लिस ब्याटर जेसन रोयले ‘मेडन’ एनपिएल खेलमा ४६ रन बनाएका थिए । यी दुई काठमाडौंलाई बिहीबार ‘थ्रेट’ हुनेछन् ।
प्लेअफ सम्भावनालाई जीवितै राख्न पोखरालाई जितको विकल्प छैन । नतिजा काठमाडौंलाई सुम्पिए पोखराको प्लेअफ सम्भावना कमजोर हुनेछ । किनभने पाँच खेलमा पोखराले मात्र चार अंक जोडेको छ ।

चितवनलाई हराए अंकतालिकाको शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो संस्करण क्वालिफायरमा स्थान पक्का गर्नेछ । उता चितवनलाई पनि पोखरा जस्तै जितको विकल्प छैन । पाँच खेलमा चितवनको पनि मात्र चार अंक छ । सुदूरपश्चिमसँग हार बेहोरे चितवनको पनि प्लेअफ पुग्ने चुनौती नाजुक हुनेछ । सुदूरपश्चिमलाई हराए चितवनसँग कम्तिमा पनि इलिमिनेटरमा स्थान बनाउन चार टोलीसँग प्रतिस्पर्धा गर्न सक्ने हैसियत राख्नेछ ।
