काठमाडौं । इन्डोर कर्पोरेट लिगको दोस्रो संस्करण भदौ दोस्रो साता हुने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलनमार्फत आयोजक भेट्रान्स फोर्टी क्लबले लिगका बारेमा जानकारी गराएको हो । भाद्र १३ देखि १६ सम्म चल्ने इन्डोर क्रिकेट प्रतियोगिता बुुढानिलकण्ठ नगरपालिकाको चुनिखेलस्थित रोयल स्पोर्टस पार्कमा हुनेछ ।
टी-१० फर्म्याटमा हुने प्रतियोगितामा कूल २० टोलीको सहभागिता रहने छ । यी टोलीलाई चार समूहमा विभाजन गरिनेछ ।
लिग कम नकआउट पद्धत्तिमा सञ्चालन हुने प्रतियोगिताको विजेता र उपविजेताले आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै विधागततर्फ उत्कृष्ट हुनेले विशेष पुरस्कारसहित विदेश भ्रमणको पनि व्यवस्ता रहेको आयोजकले बताएको छ ।
आयोजकले दुई हप्ताभित्र सहभागी टोलीको टुंगो लगाउने जानकारी गरायो । यी टोलीले भ्याटसहित ६० हजार रुपैयाँ दर्ता शुल्क तिर्नुुपर्नेछ । सहभागी टोलीका खेलाडी कम्तिमा पनि २० वर्ष पुुगेको हुनुपर्ने नियम लागू गरेको छ ।
‘प्रतियोगिताको पहिलो संस्करण हामीले सफलताका साथ सम्पन्न गर्यौँ । यसपाली विगतभन्दा पनि भव्य गर्ने योजना छ,’ भेट्रान्स फोर्टीका अध्यक्ष सन्तोष भण्डारीले भने, ‘पहिलो संस्करण हामीले उमेर हद तोकेका थिएनौं । जसका कारण १५-१६ वर्षका खेलाडीले टोलीको जितमा निर्णायक भूमिका खेले । त्यसैले यसपाली हामीले उमेर हद तोकेका हौं ।’
आयोजकले प्रतियोगिताका लागि ३५ लाख रुपैयाँ लागत छुट्याएको छ । जुन पहिलो संस्करणभन्दा १० लाख रुपैयाँले बढी हो ।
‘पहिलो संस्करण हाम्रो अनुमानित लागतभन्दा १० लाख रुपैयाँ बढी खर्च भएको थियो । हामीले यसपाली ३५ लाख रुपैयाँ छुुट्याएका छौं । ५० लाखसम्मको खर्च अनुमान गरेका छौं,’ भण्डारीले भने ।
क्रिकेटलाई कोर्पोरेटसँग जोड्ने सोचका साथ सुरु भएको यस लिगलाई आयोजकले आउने संस्करण ‘आउटडोर’मा लैजाने उद्धेश्य बोकेको छ ।