काठमाडौं । म पटियाला गएको ०२६ सालमा हो । त्यहाँ फर्किने बित्तिकै राष्ट्रिय खेलकुद परिषदको जागिर भइहाल्यो । मैले प्रशिक्षकका रूपमा सुरुमा कुनै पनि क्लब सम्हालिनँ, किन भने प्रश्न हुन्थ्यो, कुनचाहिँ क्लब हेर्ने त ? मलाई त सुरुमै राष्ट्रिय टिमको जिम्मेवारी दिइएको थियो । त्यसपछि आवश्यकता अनुसार अञ्चल टिम पनि हेरें । त्यो समयमा अञ्चल फुटबलको चलन थियो । यो खुबै लोकप्रिय पनि थियो ।
अञ्चल–अञ्चल गएर त्यहाँको टिम बनाउने जिम्मेवारी हुन्थ्यो । कुनै कुनै अञ्चलमा खेलाडी नै हुँदैनथ्यो । त्यसैले त्यस्ता अञ्चलमा आधारभूत तालिम दिएर प्रारम्भिक फुटबल टिम बनाउने काम पनि भयो । तर मेरो पहिलो जिम्मेवारी भनेको आधिकारिक रूपमा राष्ट्रिय फुटबल टिम बनाउने नै थियो । त्यो बेलासम्म आधिकारिक रूपमा नेपालको राष्ट्रिय टिम नै बनेको थिएन, भए पनि त्यो अनौपचारिक मात्रै थियो ।
यस्तो किनभन्दा यस्तो टिम बनाउन काठमाडौंका केही खेलाडीलाई मात्र समेटिएको थियो । छनोट प्रक्रिया थिएन । भए पनि त्यो एक्लै कसैले गरेको हुन्थ्यो । मुख्य कुरा भनेको त्यो बेलाको छनोट प्रतिस्पर्धात्मक थिएन, आफू खुसी काम गर्ने गराउने चलन कायमै थियो । त्यसैले सन् ७० को दशकपछि मात्र नेपाली राष्ट्रिय फुटबल टिमको सोच अगाडि बढेको मान्छु ।
नेपाल फर्केलगत्तै एक वर्षमा राष्ट्रिय टिमका लागि भनेर भारतबाट तिनै किट्टु आउनुभयो । म उहाँको सहयोगी भएँ । अवसर थियो, आगा खाँ गोल्डकप । यो भयो, सन् १९७० को कुरा । नेपालले दोस्रो पटक यो प्रतियोगिता खेल्न लागेको थियो । प्रतियोगिता ढाकामा आयोजना हुने गथ्र्यो, तर त्यति बेलासम्म बंगलादेश बनेको थिएन, पाकिस्तान नै थियो । त्यसलाई पूर्वी पाकिस्तान भनिन्थ्यो ।
टिमसँग जोडिएको अर्को तथ्य के भने म प्रशिक्षक त थिएँ, तर मेरा अधिकांस खेलाडी कि त मेरै उमेरका थिए ।
हामीले राष्ट्रिय टिमको तयारीका लागि औपचारिक रूपमै काम गरेका थियौं । अधिकांस क्लबले कसरी खेल्ने गर्छ, खेलाडी के कस्ता छन्, त्यसको गहन अध्ययन गरेका थियौं । यसै आधारमा टिम छनोट भयो र प्रशिक्षणको काम सुरु गरेका थियौं । ढाका जानु अगाडि हामीले अन्तिम छनोटको प्रक्रिया पनि अपनाएका थियौ. । त्यस अर्थमा हामीले चाहिने प्रक्रिया सबै पूरा गरेका थियौं ।
ढाका जाने त्यस टिमका प्रमुख तथा व्यवस्थापक थिए, नर शमशेर जबरा । यसरी उहाँसँग मैले सँगै काम गर्ने मौका पाएँ । उहाँसँग नजिकको व्यवहार गर्ने अवसर प्राप्त भयो । त्यो टिममा को को थिए, मलाई ठ्याक्कै सम्झना भएन । किनभने निकै लामो समय भइसकेको छ । यससँग जोडिएका तस्बिर र कागजात पनि अब मसँग छैन भन्ने स्थिति छ । घर सर्ने क्रममा अधिकांस त्यस्ता तस्बिर र कागजात हराए ।
जहाँसम्म सम्झना छ, गोलरकिपरको पहिलो रोजाइमा विष्णुगोपाल श्रेष्ठ थिए । दोस्रो रोजाइका गोलरक्षक धनबहादुर बस्नेत थिए । लेफ्ट ब्याकमा बाबुराम पुन र राइट ब्याकमा भीम थापा । मिडफिल्डमा हीरा खड्का, नरकाजी गुरुङ । अग्रपंक्तिमा यमबहादुर थापा, हीरा गुरुङ । कप्तान अच्युतकृष्ण खरेल । एउटा तथ्य भने मलाई ठ्याक्कै सम्झना छ, टिममा १८ खेलाडी थिए ।
ती सबै खेलाडीको नाम सम्झन सकेको भए, राम्रो हुने थियो । यसका लागि मलाई त्यो बेलाका खेलाडीबाट सहयोग भए हुन्थ्यो । यही टिमसँग जोडिएको अर्को तथ्य के भने म प्रशिक्षक त थिएँ, तर मेरा अधिकांस खेलाडी कि त मेरै उमेरका थिए । होइन भने म भन्दा पनि केही बढी उमेरका थिए । एक प्रकारले उमेरका आधारमा सबै जस्तो खेलाडी समकालीन नै रहे ।
टिम ढाका जाने बेलासम्ममा टिमको मुख्य प्रशिक्षक म आफै भएँ । किट्टु भारत फर्किनुभयो । मलाई जहाँसम्म सम्झना छ, उहाँलाई तत्कालीन पूर्वी पाकिस्तान जाने अनुमति प्राप्त भएको थिएन । अझ ठ्याक्कै भन्दा भिसा मिलेको थिएन । त्यसैले उहाँ टिम ढाका जानु अगाडि नै भारत फर्किनुभयो । मैले भने प्रमुख प्रशिक्षकका रूपमा नेपाली राष्ट्रिय टिम लिएर ढाका जाने अवसर पाएँ ।