पोखरा । तीन वर्षअघि पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेशले नवौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्यो । नेपाली खेलकुदमा विभागीय टिमहरूको चट्टानी वर्चस्व छ । २०७९ साल मंसिर ५ गते नेपाली खेलकुदको सबैभन्दा ठूलो महोत्सव सम्पन्न हुँदा स्वभाविक थियो, तीन विभागीय टिम नै पदक तालिकाको शीर्ष तीन स्थानमा अटाए ।
नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सर्वाधिक स्वर्ण पदकका साथ टिम च्याम्पियन हुँदा सशस्त्र प्रहरी बलको एपिएफ दोस्रो तथा नेपाल पुलिस क्लब तेस्रो भयो । राष्ट्रिय खेलुकदमा तीन विभागीय टिम, सात प्रदेश र गैरआवासीय नेपालीको संगठन एनआरएनए गरी ११ टोली सहभागी थिए ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाबाट पदक थाप्ने क्रममा विभागीय टिमको नतिजालाई हटाउँदा पहिलो स्थान गण्डकी प्रदेशको टिमले हासिल गरेको थियो । समग्रमा चौथो भए पनि विभागबाहेकमा पहिलो हुनु गण्डकीका लागि ठूलो उपलब्धि थियो । जसलाई प्रदेशले ठूलो सफलताको रूपमा लिएको छ ।
माओवादी द्वन्द्व, नाकाबन्दी र कोभिड महामारीले समेत रोक्न नसकेको सहारा क्लबको फुटबल अभियान आहा-रारा गोल्डकपको साढे दुई दशक लामो यात्रा पोखरामै मात्र सम्भव भएको छ ।
अझ पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई सुन्ने हो भने गण्डकीबाट पदक जित्नेमध्ये ८० प्रतिशत खेलाडी पोखराकै थिए । विभागीय टिम तथा एनआरएनएबाट पदक जित्ने खेलाडीको सूचीमा पनि पोखराका खेलाडीको उपस्थिति उल्लेख्य थियो ।

कुल ३९६ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा आर्मीले १७२ स्वर्ण, १०९ रजत र ८९ कांस्यसहित पहिलो स्थान हासिल गर्दा ६४ स्वर्ण, ७३ रजत र ८१ कांस्य पदक जितेको एपिएफ दोस्रो भयो । ६१ स्वर्ण, ६१ रजत र ७३ कांस्य पदक जितेको पुलिस क्लब तेस्रो हुँदा प्रदेश तथा एनआरएनएबीचको प्रतिस्पर्धामा पहिलो भएको गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कांस्यसहित कुल १२० पदक जितेको थियो ।
२०४० सालमै दोस्रो राष्ट्रिय खेलकुद आयोजना गरिसकेको पोखराका लागि खेलकुदमा गर्व गर्न लायक उपलब्धिहरूको सूची धेरै लामो छ । जसमा २०७९ को राष्ट्रिय खेलकुदमात्र होइन, सन् २०१९ को १३औं दक्षिण एसियाली खेलकुद पोखराले आतिथ्यता गरेको अर्को ठूलो प्रतियोगिता हो ।
माओवादी द्वन्द्व, नाकाबन्दी र कोभिड महामारीले समेत रोक्न नसकेको सहारा क्लबको फुटबल अभियान आहा-रारा गोल्डकपको साढे दुई दशक लामो यात्रा पोखरामै मात्र सम्भव भएको छ । नेपाली फुटबलमै प्रत्येक वर्ष नबिराइकन २४ संस्करण पूरा गरेको अर्को कुनै प्रतियोगिता नहोला ।
पछिल्ला वर्षहरूमा पोखरेली खेलकुदको परिचयलाई थप फराकिलो पार्ने काम ड्रागन बोट रेसले गरिरहेको छ ।
पोखरा म्याराथनको इतिहास सहरले गर्व गर्न लायक अर्को इभेन्ट हो । दक्षिण एसियामै सबैभन्दा पहिला सुरु भएको यो ‘सिटी म्याराथन’ले पोखरेली सौन्दर्य अन्तर्राष्ट्रियकरण गर्दै १९औं संस्करणको यात्रा पूरा गरिसकेको छ ।
नेपाललाई एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जिताउने प्याराग्लाइडिङ खेल पोखराकै देन हो । स्काइ डाइभिङ, अल्ट्रा फ्लाइट, हट एयर बेलुन र साहसिक खेलका थुप्रै विधाका लागि पोखराको विकल्प छैन । ट्रायथलन र आर्चरी पोखरेली खेल सम्भावनाको विशेषता प्रस्ट्याउने थप महत्त्वपूर्ण विधा हुन् । ट्रायथलन हुने त नेपालभित्र पोखरामा मात्र हो । प्रत्येक वर्ष पोखराले अन्तर्राष्ट्रिय स्तरको ट्रायथलन र एक्सट्रिम ट्रायथलन हुने गर्छ ।
पछिल्ला वर्षहरूमा पोखरेली खेलकुदको परिचयलाई थप फराकिलो पार्ने काम ड्रागन बोट रेसले गरिरहेको छ । स्वयं पोखरा महानगरपालिकाका मेयर आचार्यको नेतृत्व रहेको ड्रागन बोट संघले प्रत्येक वर्ष बेगनास र फेवा तालमा अन्तर्राष्ट्रिय प्रतियोगिता गरिरहेको छ।

।
फुटबल, क्रिकेट, टेनिस, ब्याडमिन्टन, टेबलटेनिस, आर्चरी र अरू इन्डोर खेलका लागि पनि काठमाडौंपछिको सबैभन्दा सजिलो र भरपर्दो विकल्प पोखरा नै हो ।
माछापुच्छ्रेको छायाँमुनि फेवातालको आँगनले नेपाली खेलकुदमा मूलधारको भनिने खेललाई पनि दरिलो आड दिइरहेको छ । राष्ट्रिय खेल भलिबलकोलागि यो प्रदेश देशकै सबैभन्दा उर्भर भूमि हो र पोखरा त्यसको केन्द्र । टाइगर कप भलिबल, दिदीबहिनी कप भलिबल र अरू थुप्रै राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरू यसका सशक्त उदाहरण हुन् ।
पछिल्ला वर्षहरूमा देशमा निकै लोकप्रिय बन्दै गएको भेट्रान फुटबल प्रतियोगिताको संस्थागत बीउ पोखरामै रोपिएको थियो । बगरभाइ खलकले २०६८ सालमा तामझामका साथ देशभरबाट मात्र नभई भारतबाट समेत टिम बोलाएर प्रतियोगिता गरेपछि भेट्रान फुटबल प्रतियोगिताहरू औपचारिक तथा संगठित रूपमा गर्ने लहर देशव्यापी सुरु भयो ।
फुटबल, क्रिकेट, टेनिस, ब्याडमिन्टन, टेबलटेनिस, आर्चरी र अरू इन्डोर खेलका लागि पनि काठमाडौंपछिको सबैभन्दा सजिलो र भरपर्दो विकल्प पोखरा नै हो । क्रिकेटले सन् २०२७ मा यु-१९ महिला विश्वकप पोखरामा आयोजनाको प्रयास थाल्नु, फुटबलले विभिन्न समयमा यही सुन्दर नगरीमा अन्तर्राष्ट्रिय खेलका साथै लिग आयोजना गर्नु, टेनिस तथा अन्य खेलका प्रतियोगिता नियमित रूपमा भइरहनुले त्यही प्रमाणित गर्छ ।

नेपाली खेलकुदकै सबैभन्दा ठूलो र प्रतिष्ठित अन्तर्राष्ट्रिय कार्यक्रम एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २२औं संस्करण पोखरामा हुने सम्झौता भएको छ ।
हुन पनि नेपालमा पोखरा मात्र एउटा यस्तो सहर हो, जहाँ रंगशाला परिसरभित्रै फुटबल, क्रिकेट, बास्केटबल, भलिबल, आर्चरी, बक्सिङ, टेनिस, सफ्ट टेनिस, स्क्वास, ब्याड्मिन्टन, कराते, तेक्वान्दोलगायतका दर्जनौं खेलका ठूला प्रतियोगिता आयोजना गर्ने ढंगका पूर्वाधार उपलब्ध छन् । दुइटा त फुटबल मैदान छ ।
यही कारण हो, पोखराको खेल सम्भावनाको बयान गर्न मेयर आचार्य हिच्किचाउँदैनन् । सानका साथ भन्छन्, ‘पोखरा भनेको देशको एउटा सामान्य सहरमात्र होइन । यो देशको एउटा निकै चलायमान र सम्भावना बोकेको सहर हो । पोखरा राष्ट्रिय खेलकुद, दक्षिण एसियाली खेलकुद, आहा-रारा गोल्डकप, पोखरा म्याराथन, ड्रागन बोट प्रतियोगिता, प्याराग्लाइडिङ, स्काइ डाइभिङ, अल्ट्रा फ्लाइट, अन्तर्राष्ट्रिय टेनिस र भलिबलजस्ता ठूला खेल मेला नियमित आयोजना गरिरहने सहर हो ।’
पृष्ठभूमि राजनीतिक भए पनि मेयर आचार्य खेलकुदमा मज्जासँग भिजेका छन् । त्यसैले त उनी खेलकुदको विषयमा हुने प्रत्येक छलफलमा घण्टौं बितेको पत्तै पाउँदैनन् । अनि सुन्नेलाई चाहिँ लाग्छ, ‘आचार्यले राजनीतिभन्दा बढी अध्ययन त खेलकुदमा पो गरेका छन कि !’

यही हप्तामात्र मेयर आचार्यकै विशेष पहलमा भ्रमण वर्ष २०२५ मनाइरहेको पोखराले आफ्नो खेलकुद परिचयमा अर्को एउटा महत्त्वपूर्ण आयाम थप्ने घोषणा गरेको छ । नेपाली खेलकुदकै सबैभन्दा ठूलो र प्रतिष्ठित अन्तर्राष्ट्रिय कार्यक्रम एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २२औं संस्करण पोखरामा हुने सम्झौता भएको छ ।
ढुक्कसँग भन्न सकिन्छ, ‘पोखरा नेपाली खेलकुदको राजधानी बन्न तयार छ ।’
भदौ २९ मा हुने कार्यक्रम पहिलो पटक काठमाडौंबाहिर गर्न आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र पोखरा महानगरपालिकाबीच सम्झौता भएको छ । जहाँ भ्रमण वर्षको छेको पारेर महानगरपालिकाले अवार्डको प्रवद्र्धकका रूपमा सहकार्य गर्न लागेको हो ।
यसलाई पोखरेली खेलकुद तथा पर्यटन प्रवर्धनको अभियानमा एउटा महत्त्वपूर्ण उपलब्धिका रूपमा लिन्छन् मेयर आचार्य । ‘पोखरा पर्यटनको राजधानी हो । अतिथि सत्कार पोखराको संस्कार हो । पोखरा इभेन्टहरूको सहर पनि हो । पोखरा नेपाली खेलकुदको निकै सम्भावना बोकेको भूमि हो । साहसिक र पर्यटकीय खेलका लागि पोखराभन्दा राम्रो गन्तव्य विश्वमै अत्यन्तै कम होलान् । पर्यटन भनेको निकै बहुआयामिक क्षेत्र हो र यसभित्र खेलकुद सबैभन्दा महत्त्वपूर्ण पाटो हो । अब पोखरा पर्यटनको मात्र होइन, खेलकुदको पनि राजधानी बन्नेछ,’ यसो भनिरहँदा मेयर आचार्यको अनुहार थप उज्यालिन्छ । उनको बोलीमा फगत औपचारिकतामात्र सुनिन्न । लवजमै भिजन प्रस्टिन्छ । विगतमा उनले गरेका कामहरूले भिजनप्रतिको प्रतिबद्धता झल्काउँछ ।

साँच्चै मेयर आचार्य पोखरालाई एउटा ‘भाइब्रेन्ट सहर’का रूपमा अगाडि बढाउन चाहन्छन् । र, त्यसमा खेलकुदको भूमिका उनले राम्ररी बुझेका छन् । विश्वभरका खेलकुद पत्रकारहरूको छाता संगठन अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआइपिएस) र एसियाली खेल पत्रकार महासंघ (एआइपिएस एसिया)को ‘क्यालेन्डर इभेन्ट’ पल्सर स्पोर्टस अवार्ड पोखरा ल्याउन उनले निर्वाह गरेको भूमिकाले यही भन्छ । अवार्डमार्फत पोखराको खेल भावना, क्षमता र सम्भावनालाई अन्तर्राष्ट्रियकरण गर्ने योजना मेयर आचार्यको प्रत्येक शब्दमा अनुभूत हुन्छ ।
सहरको विशेषता, यहाँको खेल संस्कार, उपलब्ध पूर्वाधार, अनुपम प्राकृतिक विविधता, अतिथि सत्कारको तत्परता र स्थानीय सरकारको दूरदृष्टि अनि प्रतिबद्धतालाई नजिकबाट मिहिन तरिकाले हेर्ने हो भने मेयर आचार्यले भनेजस्तै पोखरामा ‘खेलकुदको राजधानी’ बन्ने सम्भावना बलियो देखिन्छ । ढुक्कसँग भन्न सकिन्छ, ‘पोखरा नेपाली खेलकुदको राजधानी बन्न तयार छ ।’
