काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर सिटीविरुद्ध अतिरिक्त समयमा ४-३ को रोमाञ्चक जित दर्ता गर्दै साउदी अरेवियाको अल हिलाल फिफा क्लब विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको क्याम्पिङ वर्ल्ड रंगशालामा मंगलबार निर्धारित ९० मिनेटमा दुई टोलीबाट २-२ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
अल हिलाललाई जित दिलाउन मार्कोस लियान्द्रोले दुई तथा माल्कोम र कालिडो काउलीबालीले समान एक गोल गरे । सिटीका लागि बर्नान्डो सिल्भा, एर्लिङ हालान्ड र फिल फोडेनले गोल गरे ।
खेलको नवौं मिनेटमै सिल्भाको गोलमार्फत सिटीले अग्रता लिएको थियो । दोस्रो हाफको सुरुआतमै लियान्द्रोले अल हिलाललाई बराबरीमा ल्याए ।
माल्कोमले ५२औं मिनेटमा गोल गर्दा अल हिलाल २-१ ले अगाडि बढ्यो । तीन मिनेटपछि नै हालान्डले सिटीलाई २-२ को बराबरीमा ल्याए ।
त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । ९४औं मिनेटमा काउलीबालीले अल हिलालका लागि तेस्रो गोल गरे ।
फोडेनले १०४औं मिनेटमा गोल गर्दा सिटी ३-३ को बराबरीमा आयो । ११२औं मिनेटमा लियान्द्रोले व्यक्तिगत दोस्रो गोल गर्दै अल हिलाललाई ४-३ को रोमाञ्चक जित दिलाए ।
क्वार्टरफाइनलमा अल हिलालले ब्राजिलको फ्लुमिनेन्स एफसीको सामना गर्नेछ । फ्लुमिनेन्सले अन्तिम १६ को खेलमा इटालियन क्लब इन्टर मिलानविरुद्ध २-० को जित दर्ता गरेको थियो ।