काठमाडौं । थ्री स्टार क्लबले एन्फा यु-१६ युथ लिगमा सहभागिता नजनाउने भएको छ ।
आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार सार्वजनिक गरेको खेल तालिमामा थ्री स्टारलाई समावेश गरेको छैन । विभागीय टोली नेपाल एपिएफ क्लब भने लिगमा सहभागी हुने भएको छ ।
असार ५ गते अपिल कमिटीले अवैधानिक खेलाडी खेलाएवापत थ्री स्टार क्लब उक्त खेलमा ३-० को नतिजामा पराजित हुने निर्णय गरेसँगै थ्री स्टारले शीर्ष डिभिजनको हैसियत गुमाएको थियो भने एपिएफ शीर्ष डिभिजनमै रहने निश्चित भएको थियो ।
सोही निर्णय अनुसार एन्फाले थ्री स्टारलाई हटाएर एपिएफलाई लिग खेलाउने निर्णय गरेको हो । यु-१६ लिगमा शीर्ष डिभिजनका १४ वटै क्लबले सहभागिता जनाउने भएका छन् ।
यसअघि एन्फाले शीर्ष डिभिजनका क्लबले सहभागिता जनाउने एन्फा यु-१६ लिग फुटबल प्रतियोगिताको तेस्रो संस्करणका लागि छलफल गर्न भन्दै गत जेठ १५ मा बोलाएको बैठकमा उपस्थितिका लागि एपिएफलाई खबर गरेको थिएन ।
दुई वर्ष अगाडी सकिएको लिगमा एपिएफसँगै खुमलटार युथ क्लब पनि रेलिगेसनमा परेको थियो । तर रेलिगेसनबाट बाच्न संघर्ष गरेको अर्को टिम थ्री स्टारले जावलाखेल युथ क्लबविरुद्धको खेलमा प्रतियोगिताको नियमावलीविपरित भिसा नभएका विदेशी खेलाडी खेलाएको भन्दै एन्फामा उजुरी गरेको थियो ।
खुमलटार र एपिएफलाई नबोलाइएको शीर्ष डिभिजन क्लबहरूको उक्त बैठकमा अर्को विवादित टोली थ्री स्टारलाई भने निमन्त्रणा पठाइएको थियो ।

जावलाखेलविरुद्धको खेलमा थ्री स्टार १-० को नतिजामा विजयी भएको थियो । सोही तीन अंकको आधारमा एपिएफलाई पछि पार्दै थ्री स्टारले रेलिगेसन जोगाएको थियो थियो । सोही नतिजाका कारण दोस्रो डिभिजनमा झरेको एपिएफले उक्त खेलमा थ्री स्टारले भिसा सकिइसकेका दुई विदेशी खेलाडी खेलाएको भन्दै उजुरी गरेको थियो ।
एपिएफले भिसा सकिएका खेलाडी प्रतियोगिताको नियमावली, नेपालको कानुन र फिफाको नियमअनुसार पनि खेलाउन नपाउने जिकिर गर्दै त्यस्ता अवैधानिक खेलाडी खेलाए सम्बन्धित टिम ३-० को नतिजामा पराजित हुने नियमअनुसार कारवाही गर्न एन्फामा २०८० जेठ २८ गते उजुरी गरेको थियो ।
उक्त उजुरीमाथि एन्फाको अनुशासन समितिले केही महिनाअघि निर्णय गर्दै थ्री स्टारले खेलाएका खेलाडी अवैधानिक भएको ठहर गरेको थियो । तर अवैधानिक खेलाडी खेलाएवापत अनुशासन समितिले थ्री स्टार क्लब र सम्बन्धित खेलाडीलाई नगद जरिवानामात्र गरेको थियो ।
अनुशासन समितिको उक्त निर्णयमा असहमति जनाउँदै थ्री स्टार र एपिएफ दुवैले अपिल गरेका थिए । जसमा अपिल कमिटिले थ्री स्टारकोविरुद्धमा निर्णय सुनाएको थियो ।
एन्फाले सामोबार निकालेको तालिका अनुसार असार २० गतेबाट सुरु हुने लिगको उद्घाटन खेलमा मनाङ मर्स्याङदी र श्री भगवती क्लब भिड्नेछन् ।