काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले अमेरिकामा जारी फिफा क्लब विश्वकपको क्वार्टरफाइनलमा फ्रेन्च टोली पेरिस सेन्ट जर्मन (पिएसजी) को सामना गर्ने भएको छ ।
आइतबार हार्ड रक रंगशालामा ब्राजिलको फ्लेमेन्गोविरुद्ध ४-२ को जित निकाल्दै बायर्नले क्वार्टरफाइनलको यात्रा तय गर्यो । यता पिएसजीले अन्तिम १६ मा घरेलु टोली इन्टर मियामीविरुद्ध ४-० को सहज जित निकोको थियो ।
बायर्नलाई जित दिलाउन ह्यारी केनले दुई र लियोन गोरेट्ज्काले एक गोल गरे । एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । फ्लेमेन्गोका लागि गर्सन र जोर्गिन्होले गोल फर्काए ।
खेलको छैटौं मिनेटमै एरिक पल्गरबाट आत्मघाती गोल हुन पुग्दा बायर्नले अग्रता लिएको थियो । तीन मिनेटपछि नै केनले टोलीको अग्रता दोब्बर बनाए ।
गर्सनले ३३औं मिनेटमा फ्लेमेन्गोका लागि गोल गर्दा खेल २-१ को स्थितीमा आयो । ४१औं मिनेटमा गोरेट्ज्काले बायर्नका लागि तेस्रो गोल गरे ।
जोर्गिन्होले ५५औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै फ्लेमेन्गोलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर ७३औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नको अग्रता ४-२ मा पुर्याए ।