काठमाडौं । अमेरिकामा मुख्यालय ररहेको आइटी सुत्र इन्कले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।
प्रविधि क्षेत्रमा विगत ११ वर्षदेखि नवप्रवर्तनकारी समाधानहरू प्रदान गर्दै आएको आइटी कन्सल्टिङ कम्पनी आइटी सुत्रले किरणसँग तीन वर्षका लागि ३० लाख नेपाली रुपैयाँमा सम्झौता गरेको हो ।
सोमबार सम्झौतापत्रमा किरण र कम्पनीका सिइओ पंकज श्रेष्ठले हस्ताक्षर गरे ।
‘किरण चेम्जोङ खेलकुदको मैदानमा मात्रै होइन, हरेक नेपाली युवाका लागि प्रेरणाको स्रोत हुन्। उनको अटल समर्पण र विश्वास कम्पनीको मूल्यमान्यतासँग मेल खान्छ। यो केवल एउटा व्यावसायिक सम्झौता मात्र नभई नेपाली प्रतिभालाई प्रविधि र खेलकुद दुवै क्षेत्रमा अगाडि बढाउने हाम्रो साझा प्रतिबद्धता हो,’ सम्झौतापछि सिइओ श्रेष्ठले भने ।
किरण अहिले अमेरिका भ्रमणमा छन् । डेढ दशकभन्दा लामो समयदेखि राष्ट्रिय टोलीको गोलपोष्ट सम्हाल्दै आएका किरण १०० अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।
उनले भारत र माल्दिभ्सबाट व्यवसायिक फुटबल खेलेका छन्। यसैगरी उनीसँग थ्री स्टार क्लब, मच्छिन्द्र क्लबबाट शीर्ष डिभिजन तथा धनगढी एफसीबाट तथा नेपाल सुपर लिग (एनएसएल) खेलेको अनुभव पनि छ ।