काठमाडौं । अग्रता जोगाउन नसक्दा लिग लिडर लिभरपुलले इङ्लिस प्रिमियर लिगमा आइतबार फुलहमसँग ३-२ को हार बेहोरेको छ ।
पराजित लिभरपुलको ३१ खेलबाट ७३ अंक छ । जित निकालेको फुलहम समान खेलबाट ४८ अंकका साथ आठौं स्थानमा उक्लिएको छ ।
कार्भेन कटेजमा घरेलु टोली फुलहमलाई जित दिलाउन रायन सेसेग्नन, एलेक्स इवोबी, रोड्रिगो मुनिजले गोल गरे । लिभरपुलका लागि एलेक्सिस म्याक एलिस्टर र लुइस डियाजले गोल गरे ।
खेलको १४औं मिनेटमा एलिस्टरको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । ९ मिनेटपछि नै सेसेग्ननले फुलहमलाई बराबरीमा ल्याए ।
इवोबीले ३२औं मिनेटमा गोल गर्दा फुलहम २-१ ले अगाडि बढ्यो । चार मिनेटपछि नै मुनिजले टोलीको अग्रतालाई ३-१ मा पुर्याए ।
डियाजले ७२औं मिनेटमा गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।
आइतबारै सम्पन्न अर्को खेलमा टोटनहमले साउथह्याम्पटनविरुद्ध ३-१ को जित दर्ता गर्यो । यो हारसँगै साउथह्याम्पटन रेलिगेसनमा परेको छ ।