काठमाडौं । अमाडाेउ डिओपले अन्तिम समयमा गरेको गोलले काठमाडौं रेजर्सले नेपाल सुपर लिगमा बुटबल लुम्बिनी एफसीविरुद्ध १-० को कठिन जित निकालेको छ ।
पहिलो जितसँगै चार खेलमा पाँच अंक जोडेको काठमाडौं तेस्रो स्थानमा उक्लिएको छ । पराजित बुटवल समान खेलबाट एक अंकका साथ पुछारमा छ । यससँगै बुटवलको प्ले अफ सम्भावना कमजोर भएकाे छ ।
खेलको दोस्रो मिनेटमा बुया टुरेको प्रहारलाई बुटवलका गोलपिकर दीप कार्कीले बचाए । छैटौ मिनेटमा मनीष डाँगीको प्रहार पोलमा लागेर फर्किदा बुटवलले अग्रता लिने अवसर गुमायो ।
गोलकिपर दीप १२औं मिनेटमा बाधक बन्दा काठमाडौंले अग्रता लिन सकेन अमाडोउ डियोपले वन भर्सेस वनको स्थितिमा गरेको प्रहारलाई दीपले अघि बढेर विफल पारेका थिए । सोहि रिबाउन्डमा बनेको अवसरमा रोहन कार्कीको प्रहारलाई पनि दीपले गोललाइन क्रस हुन दिएनन् ।

काठमाडौंका गोलपिकर अभिषेक बरालले ३८औं मिनेटमा केन्ता हाराको प्रहारलाई बचाए । पहिलो हाफको इन्जुरी समयमा टुरेको प्रहारलाई दीपले डाइभ गर्दै बचाए ।
डियोपले ५३औं मिनेटमा पेनाल्टी बक्स गरेको प्रहार क्रसबारमा लागरे बाहिरिदा बुटवलको संकट टर्यो ।
रक्षक सुमन श्रेष्ठले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि ७१औं मिनेटमा बुटवल १० खेलाडीमा समेटियो । काठमाडौंका अलिजोन अलिजोनोभलाई मुक्का प्रहार गरेपछि फिफा रेफ्री प्रज्वल क्षेत्रीले सुमनलाई सीधै रातो कार्ड देखाएका थिए ।
डिओपले ८९औं मिनेटमा गोल गरे । भिन्सेन्ट कोजिइल्लोसँग तालमेल मिलाउँदै बक्स लाइनन जिकबाट उनको प्रहारलाई बुटवलका गोलकिपर दीपले बचाउन सकेनन् ।
