काठमाडौं । लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार कोलकाता नाइट राइडर्सविरुद्ध चार रनको रोमाञ्चक जित दर्ता गरेको छ ।
जितसँगै पाँच खेलमा ६ अंक जोडेको लाखनउ चौथो स्थानमा उक्लिएको छ । पराजित कोलकाता समान खेलबाटचार अंकका सात छैटौं स्थानमा छ ।
घरेलु मैदान इडेन गार्डेन्समा लखनउले प्रस्तुत गरेको २३९ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै २३४ रन बनायो ।
कोलकाताका लागि कप्तान अजिंक्य रहाणेले ३५ बलमा आठ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ६१ रनको योगदान गरे । यसैगरी वेङ्कटेस अय्यरले ४५, रिंकु सिंहले अविजिवत ३८, सुनिल नारायणले ३० , क्विनटन डी ककले १५ र हर्षीत रानाले अविजित १० रन बनाए ।
रहाणेले तेस्रो विकेटका लागि अय्यरसँग ७१ र दोस्रो विकेटका नारायणसँग ५४ रनको साझेदारी गरेका थिए ।
लखनउका लागि आकाशदीप सिंह, शार्दुल ठाकुरले समान दुई तथा आवेश खान, दग्विेश राठी र रवि विश्नोईले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २३८ रनको योगफल तयार पारेको थियो ।
लखनउका लागि निकोलस पुरनले ३६ बलमा आठ छक्का र सात चौकाको मद्दतले अविजित ८७ रनको योगदान । यसैगरी मिचेल मार्शले ४८ बलमा ६ चौका र पाँच छक्कासहित ८१ र एडियन मार्करमले ४७ रन बनाए ।
मार्शले पहिलो विकेटका लागि मार्करमसँग ९९ र दोस्रो विकेटका लागि पुरनसँग ७१ रनको साझेदारी गरेका थिए । यस्तै तेस्रो विकेटका लागि पुरन र अब्दुल समादबीच ५१ रनको साझेदारी भयो । समाद ६ रन बनाएर पभेलियन फर्किए ।
कोलकाताका लागि हर्षीत रानाले दुई र आन्द्रे रसेलले एक विकेट लिए ।