काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा च्यासल युवा क्लब र श्री भगवती क्लबले गोलरहित बराबरी खेल्दा शीर्ष स्थानमा रहेको प्लानिङ ब्वाइज युनाइटेडलाई अंक दूरी बढाउने अवसर मिलेको छ ।
आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न खेलमा दुबै क्लबले पाएका अवसरलाई सदुपयोग गर्न सकेनन् । बराबरीसँगै श्री भगवतीले शीर्ष स्थानमा उक्लिने सुनौलो अवसर गुमायो । श्री भगवती पाँच खेलबाट ११ अंक जोड्दै दोस्रो स्थानमा यथावत रह्यो । एक खेल कम खेलेको प्लानिङको १२ अंक छ ।

यो नतिजासँगै च्यासलले शीर्ष तीनमा उक्लिने मौका गुमायो । च्यासलले पाँच खेलमा सात अंक जोडेको छ ।
लिगमा सोमबार दुई खेल हुनेछन् । दिउँसो १२ः१५ बजे हुने पहिलो खेलमा एक अंक पनि नजोड्दै पुछारमा रहेको श्री कुमारी क्लबले छैटौं स्थानमा रहेको बाँसबारी क्लबसँग खेल्नेछ । त्यस्तै ३ः४५ बजे हुने दोस्रो खेलमा आठौं स्थानको मध्यपुर युथ एसोसिएसनले ११औं स्थानको ब्वाइज युनियन क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।