काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ अन्तर्गत श्रीलंकाले माल्दिभ्सविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा जारी समूह ‘बी’ को पहिलो खेलमा श्रीलंकाले खेलको १७औं मिनेटमा इमेशा अनुराधिनीको गोलमार्फत अग्रता लिएको हो । पिएम परेराको सुन्दर क्रसमा बक्सभित्र कुनै पनि निगरानीमा नरहेकी इमेशाले फ्रि हेडर गोल गरिन् ।
पहिलो हाफमा श्रीलंका माल्दिभ्सविरुद्ध एकपक्ष रुपमा हाबी देखियो । तर, माल्दिभ्सकी गोलकिपर अमीनाथ लीजाले श्रीलंकाको आधा दर्जनभन्दा बढी प्रहारलाई विफल पारेसँगै पहिलो हाफमा एक गोल मात्र सम्भव भएको हो ।
खेलको आठौं मिनेटमा श्रीलंकाले पहिलो अवसर सृजना गरेको थियो । गोलकिपर अमीनाथ अगाडि बढेको फाइदा उठाउ्रँदै सिभानेश्वरण थर्मिकाले गरेको प्रहार पोलमा ठोक्किएर बाहिरिँदा माल्दिभ्सले राहतको श्वास फेर्यो । ३३औं मिनेटमा इमेशाको दुई प्रहार अमीशाले बचाइन् । पहिलो प्रहारलाई बचाएपछि बल पुनः अमीशासामु नै आइपुगेको थियो । त्यसपछिको प्रहारलाई पनि अमीशाले बचाइन् । यसबाहेक खेलमा श्रीलंकाली खेलाडीका लामो दुरीका प्रहारहरु सबै अमीनाथले नियन्त्रणमा लिएकी थिइन् । जसका कारण माल्दिभ्सले खेलमा आफ्नो आशा जिवितै राखेको छ ।
माल्दिभ्सले २९औं मिनेटमा पहिलो र एकमात्र अवसर सृजना गर्यो । तर, मारिया नुराको पासमा निगरानीमा नरहेकी मारिया रिफाको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
माल्दिभ्सले साफ च्याम्पियनसिपको पछिल्ला पाँच खेलमा गोल गर्न सकेको छैन । यी दुई तेस्रो पटक एकअर्कासँग खेल्न लागेका हुन् । २०१६ सिलिगुढीमा माल्दिभ्सले पहिलो भेटमा श्रीलंकालाई समूह चरणमा ५-२ गोल अन्तरले हराएको थियो । २०१९ मा यी दुई दोस्रो पटक खेलेका थिए । जसमा श्रीलंका २-० गोल अन्तरले विजयी भएको थियो ।
शुक्रबार दिनको दोस्रो खेलमा आयोजक नेपालले भुटानको सामना गर्नेछ । खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।