काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ अन्तर्गत श्रीलंकाले माल्दिभ्सविरुद्ध १-० को संघर्षपूर्ण जित हासिल गरेको छ ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सम्पन्न समूह ‘बी’को पहिलो खेलमा इमेशा अनुराधिनीले पहिलो हाफमा गरेको गोल निर्णायक बन्दा श्रीलंकाले स्पष्ट तीन अंक जोडेको हो ।
साफ इतिहासमा माल्दिभ्सको यो लगातार छैटौं हार हो । अघिल्लो दुई संस्करणमा जितविहीन रहेको माल्दिभ्सले ६ खेलयता विपक्षी पोस्टमा गोल गर्न सकेको छैन । माल्दिभ्सले पछिल्लो पटक २०१६ मा भुटानविरुद्ध समूह चरणमा ३-१ को जित हासिल गरेको थियो । त्यसयता माल्दिभ्स गोलविहीन छ ।
पहिलो हाफमा माल्दिभ्सविरुद्ध एकपक्ष रुपमा हाबी देखिएको श्रीलंकाले दोस्रो हाफमा पनि श्रीलंकालाई दबाबमा राख्यो । माल्दिभ्सकी गोलकिपर अमीनाथ लीजाले श्रीलंकाको आधा दर्जनभन्दा बढी प्रहारलाई विफल पारेसँगै खेलमा एक गोल मात्र सम्भव भएको हो ।
खेलको आठौं मिनेटमा श्रीलंकाले पहिलो अवसर सृजना गरेको थियो । गोलकिपर अमीनाथ अगाडि बढेको फाइदा उठाउ्रँदै सिभानेश्वरण थर्मिकाले गरेको प्रहार पोलमा ठोक्किएर बाहिरिँदा माल्दिभ्सले राहतको श्वास फेर्यो । खेलको १७औं मिनेटमा पिएम परेराको सुन्दर क्रसमा बक्सभित्र कुनै पनि निगरानीमा नरहेकी इमेशाले फ्रि हेडर गोल गरेकी थिइन् ।
माल्दिभ्सले २९औं मिनेटमा पहिलो र एकमात्र अवसर सृजना गर्यो । तर, मारिया नुराको पासमा निगरानीमा नरहेकी मारिया रिफाको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
खेलको ३३औं मिनेटमा इमेशाको दुई प्रहार अमीशाले बचाइन् । पहिलो प्रहारलाई बचाएपछि बल पुनः अमीशासामु नै आइपुगेको थियो । त्यसपछिको प्रहारलाई पनि अमीशाले बचाइन् । ७५औं मिनेटमा नबन्जना परेराको प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा श्रीलंकाले गोल अन्तर बढाउन सकेन । यसबाहेक खेलमा अधिकांश समय श्रीलंकाली खेलाडीका लामो दुरीका प्रहारहरु अमीनाथले नियन्त्रणमा लिइन् ।
साफमा माल्दिभ्सविरुद्ध श्रीलंकाको यो दोस्रो जित हो । यसअघि श्रीलंकाले २०१९ मा माल्दिभ्सलाई २-० गोल अन्तरले पराजित गरेको थियो । यसअघि सन् २०१६ सिलिगुढीमा माल्दिभ्सले पहिलो भेटमा श्रीलंकालाई समूह चरणमा ५-२ गोल अन्तरले हराएको थियो ।
शुक्रबार दिनको दोस्रो खेलमा आयोजक नेपालले भुटानको सामना गर्नेछ । समूह ‘बी’ को यो खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।