काठमाडौं । आसन्न २०औं एसियाली खेलकुदको प्रचार प्रसारका लागि शनिबार नेपाल ओलम्पिक कमिटी (एनओसी)ले शनिबार ‘एसियन गेम्स फन रन’ आयोजना गर्ने भएको छ ।
एनओसीले शुक्रबार आफ्नो केन्द्रीय कार्यलयमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमका बारेमा जानकारी गराएको हो । एनओसीका अनुसार कार्यक्रम ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)को पहलमा एसियाली खेलकुदको प्रवर्धन गर्ने उद्धेश्यसहित आयोजना गर्न लागिएको हो ।
बिहान ७ः३० बजे एनओसी परिसरबाट सुरु हुने फन रन युएन पार्क एनबीआई अस्पताल गेट, चक्रवर्ती, प्रभात स्कुल, तुलसी, कनिबहाल चोक, जावलाखेल, लगनखेल हुँदै पाटन दरबार क्षेत्रमा पुगेर समापन हुनेछ ।

करिब तीन किलोमिटर दूरीको यस रनमा खेलाडी, प्रशिक्षक, ओलम्पियन, खेल पदाधिकारी, कूटनितिक व्यक्तित्व, सुरक्षा निकायका प्रतिनिधि, विद्यार्थी तथा खेलप्रेमी गरि करिब एक हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको छ ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले एसियाली खेलकुदको भावना, एकता र सहभागितालाई प्रवर्धन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठसँगै महासचिव राजीव श्रेष्ठ, एसियाली खेलकुद आयोजक समितिका ‘पर्सनल रिलेशन’ निर्देशक फुमिहितो कनाइजुका, ओसिएका उपनिर्देशक विनोद तिवारी, नेपालका लागि फन रनका संयोजक रामकृष्ण श्रेष्ठ र एनओसीका अन्य पदाधिकारीको सहभागिता थियो ।
