काठमाडौं । प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगिताको बागमती प्रदेश छनोट प्रतियोगितामा काठमाडौं र ललितपुर जिल्ला आफ्नो चौथो खेलमा पनि अपराजित रहँदा मकवानपुरले लगातार दोस्रो जित निकालेको छ ।
माथिल्लो मुलपानीमा काठमाडौंले चितवन जिल्लाको टोलीलाई ५ विकेटले पराजित गर्यो । काठमाडौंको जितमा रित गौतमले ६३ तथा सम्राट साहले ५३ रन बनाए । प्रतिश जिसी र दयानन्द मण्डलले समान ३ तथा सोनु देवकोटाले २ विकेट लिए । 
दोस्रो हार बेहोरेको चितवनका लागि प्रशान्त महतले ७८ तथा प्रतिक श्रेष्ठले २ विकेट लिए । लगातार चौथौ जितका साथ दोस्रो स्थानको काठमाडौंको ८ अंक हुँदा चितवनको ४ खेलमा ४ अंक रहेको छ ।
लगातार चौथो जित हात पार्ने क्रममा अंक बिहिन नुवाकोटलाई ललितपुरले ६ विकेटको जित हासिल गर्यो । ललितपुरको जितमा कप्तान आशुतोष घिरैयाले ६९ तथा आदिल खानले अविजित रहँदै ५६ रन बनाए । सुर्य तामाङले ४ विकेट लिए ।
आजै भएको अर्को खेलमा मकवानपुर जिल्लाले त्रिभुवन विश्वविध्यालयलाई ९ विकेटले हराउँदै चौथो खेलमा दोस्रो जित निकाल्यो ।
प्रतियोगितामा बागमती प्रदेशका ६ (काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र नुवाकोट) जिल्ला तथा त्रिभुवन विश्वविद्यालयको टोली सहभागीता छ । सहभागी टोलीबीच सिङ्गल राउण्ड रोबिन लिगका आधारमा खेल हुनेछ । लिग चरणको समाप्ती पछि शीर्ष २ मा रहने टोलीका बीच आगामी चैत ३ मा फाइनल खेल हुनेछ ।
टियु क्रिकेट रंगशाला र माथिल्लो तथा तल्लो मुलपानीमा संचालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगितामा बागमती प्रदेशको प्रतिनिधित्व गर्नेछन् ।
