काठमाडौं । दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) ले पाकिस्तानमा हुने तय भएको १४औं दक्षिण एसियाली खेलकुद (साग) को मिति तय गरेको छ।
मंगलबार पाकिस्तानमा बसेको एसएओसी बैठकले प्रतियोगिता सन् २०२६ को जनवरी २३ देखि ३१ सम्म गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ।
बैठकमा भारतका प्रतिनिधिको अनलाइनमार्फत सहभागिता रहेको बताइएको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठसहित अन्य ६ देशका प्रतिनिधि लाहोर बैठकमा सहभागी थिए ।
सन् २०१९ मा नेपालमा १३ औं सागको समापनका दौरान २०२१ मा पाकिस्तानले १४औं साग आयोजना गर्ने भन्दै झन्डा हस्तान्तरण भएको थियो । हरेक दुई वर्षमा हुनुपर्ने साग ६ वर्षसम्म पनि हुन सकेको छैन ।
पाकिस्तानले पछिल्लो पटक सन् २००४ मा नवौं सागको आयोजना गरेको थियो ।
एसएओसीले साग पाकिस्तानको तीन शहर लाहोर, इस्लामाबाद र फैसलाबादमा हुने निर्णय गरेको छ । सागमा समावेश हुने कुल २९ मध्ये २७ खेलको निर्णय पनि भएको बताइएको छ। बाँकी दुई खेल भने आयोजक राष्ट्रले थप्न पाउनेछ। तर चारभन्दा कम राष्ट्रको सहभागिता नभएको अवस्थामा त्यस्तो खेल हटाइनेछ।
आगामी मार्चको बस्ने बैठकले प्रतियोगितामा समावेश हुने टुंगो लगाउने भनिएको छ।
बैठकले एसएओसीको विधान संशोधन समिति गठन गरेको छ। समितिको सदस्यमा एनओसी अध्यक्ष श्रेष्ठ र श्रीलंका ओलम्पिक कमिटीका अध्यक्ष सुरेनदारम सुब्रमन्यम छन्।