काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु १७ महिला च्याम्पियनसिप बुधबारबाट भुटानको थिम्पुमा सुरु हुँदैछ ।
अगस्ट ३१ सम्म हुने प्रतियोगितामा नेपालसहित, भारत, भुटान र बंगलादेश सहभागी छन् ।
प्रतियोगिताअघि मंगलबार आयोजित पत्रकार सम्मेलानमा नेपालका प्रशिक्षक चेतनारायण श्रेष्ठले टोली प्रतियोगिताका लागि तयार रहेको बताएका छन् ।
‘अघिल्लो संस्करण खेलेका खेलाडीको बाहुल्य छ । हामीले पोजिसन अनुसार खेलाडीको प्रदर्शनलाई निखारेका छौं । साफ च्याम्पियनसिपको मुख्य उद्धेश्य भनेको खेलाडी विकास पनि हो । यस्ता खालका प्रतियोगिताबाट खेलाडीले सिक्ने मौका पाइरहेका हुन्छन्, एक्सपोजर पाइरहेका हुन्छन्,’ प्रशिक्षक श्रेष्ठले भने,‘ हामीले राम्रो तयारी गरेका छौं । हाम्रो लक्ष्य भनेको उपाधि जित्नु नै हो । हामीले टेकनिकल र ट्याक्टिकल पक्षमा काम गरेका छौं । प्रतियोगिताका लागि हामी तयार छौं ।’
नेपालले बुधबार भारतसँग खेल्दै प्रतियोगताको सुरुआत गर्दैछ । प्रशिक्षक श्रेष्ठ भारत बलियो टोली भए पनि नेपाल जित निकाल्न सक्षम रहेको तर्क गर्छन् ।
‘पहिलो खेल नै भारतसँग छ । भारत बलियो टोली हो । अघिल्लो वर्ष यु–१६ मा हामी घरेलु भूमिमा पराजित भएका थियौं । बितेको संस्करण गरेका गल्तीहरूलाई हामीले यसपालि सच्याएका छौं । सबै टेकनिकल एरियाहरूमा काम भएको छ । खेलाडीले मौकालाई सदुपयोग गर्न सके भने हामी भारतलाई हराउन सक्छौं,’ प्रशिक्षक श्रेष्ठले थपे,‘ मैले जित्नै पर्छ भन्ने दबाब लिएको छैन । दबाब लियो भने खेलमा असर पर्छ । खेलाडीले आफूले जाने सिकेका कुराहरुलाई सकेसम्म खेलमा प्रयोग गर्छन् भन्ने पूर्ण आशा लिएको छु । हामी सकारात्मक नतिजा ल्याउनेछौं भन्ने विश्वास छ ।’
यसैगरी नेपालकी कप्तान भूमिका बृढाथोकी सन्तुलित टिम भएकाले जित्नकै लागि मैदान उत्रिने बताउँछिन् ।
ड्रेसिङ रुमको माहोल राम्रो छ । टोलीका सबैमा जितको भावना छ । सबै आ–आफ्नो ठाउँमा राम्रो छन् । सन्तुलित टोली भएकाले हामी जित्ने मानसिकताका साथै मैदान उत्रिने छौं । नेपाली समर्थकलाई साथ र हौसला दिनुहुन अनुरोध गर्दछु,’ कप्तान बुढाथोकीले भनिन् ।