काठमाडौं । ‘युवा अर्थात भविष्यका आशा’ । युवा देशको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको जग हो । अन्य क्षेत्रमा युवाको महत्वबारे वर्णन गर्दा खर्चिने शब्द जे हो, खेलकुदमा पनि त्यही हो ।
युवा भन्नाले ‘टिनेजर’ र ‘एडल्ट’ बीचको उमेर समूह भन्ने बुझिन्छ । खेलकुदको हकमा भने युवा भनेको २३ वर्षमुनिका जमात हुन् ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष आयोजना गर्दै आएको एनजेएफएफ पल्सर स्पोर्टस अवार्डमा युवा वर्ष खेलाडी भनेर सम्मान गर्दै आएको दुई दशक भइसक्यो । युवा वर्ष खेलाडी सम्भवतः पल्सर स्पोर्टस अवार्डकै सबैभन्दा महत्त्वपूर्ण विधामध्ये एक हो । युवा वर्ष खेलाडीको सम्मान जित्ने पहिलो मापदण्ड हो, खेलाडी २३ वर्षमुनिको हुनुपर्छ । त्यसपछि बल्ल आउँछ उसले एक वर्षभित्र गरेको प्रदर्शन ।
अवार्डका पछिल्ला विजेता खेलाडी हेर्ने हो भने यसले युवाको सिद्धान्तलाई मज्जाले प्रमाणित गरेको छ । पारस खड्कादेखि सन्दीप लामिछानेसम्म, विमल घर्तीमगरदेखि अञ्जन विष्ट र मनीष डाँगीसम्म, आयशा शाक्यदेखि गौरिका सिंहसम्मले यो अवार्ड जितेका छन् । सबै युवा वर्ष खेलाडीबाट सम्मानित भएका छन् । पछि सिनियरमा पनि यिनीहरूको रवाफिलो प्रदर्शन रह्यो/रहँदै आएको छ ।
२०६१ मा अवार्ड ‘रिभाइभ’ हुँदा पुरुष र महिलाको विधामा मात्र पुरस्कार प्रदान गरिएको थियो । त्यसपछिका वर्षदेखि युवा वर्ष खेलाडीको विधामा अवार्ड दिन थालिएको हो ।
नेपाल क्रिकेट संघ (क्यान)का सचिव तथा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का पल्सर स्पोर्टस अवार्डको ‘डेकोरेटेड’ नाम हो । पारस नेपाली खेलकुद इतिहासकै चर्चित नाम हुन् । उनी पल्सर स्पोर्टस अवार्डमा अहिलेसम्मकै सबैभन्दा धेरै अवार्ड जित्ने खेलाडी हुन् । उनको कप्तानीमा नेपालले क्रिकेटमा ठूलै छलाङ लगायो । अहिले उनको जिम्मेवारी फेरिएको छ । प्रशासनिक यात्राको दोस्रो वर्षमा छन् उनी ।

पारसका बारेमा यति चर्चा किनभने पल्सर स्पोर्टस अवार्डमा उनले जितेको पहिलो अवार्ड भनेको युवा वर्ष खेलाडी हो । यो उपलब्धि पारसले २०६५ सालमा पाएका थिए । यो १७ वर्षमा पारसले जति पनि उपलब्धि हासिल गरे । त्यसमा युवा वर्ष खेलाडीले कहीँ न कतै उर्जा प्रदान गरेको हुनुपर्छ ।
एथलेटिक्सका देवीमाया पनेरु युवा वर्ष खेलाडी विधाको पुरस्कार जित्ने पहिलो खेलाडी हुन् । यो उपलब्धि उनले २०५४ सालमै हासिल गरेकी थिइन् ।
विविध कारणले गर्दा एनएसजेएफले ६ वर्ष अवार्ड नै प्रदान गर्न सकेन । २०६० सालमा भएको निरञ्जन राजवंशीको अध्यक्षतामा मञ्चको नयाँ कार्यसमिति आएपछि रोकिएको अवार्डलाई निरन्तरता दिने निर्णय गरेको थियो । त्यही निर्णयबाट पुनस्थार्पित अवार्ड अहिले २२औं संस्करणमा आइपुगेको छ ।
फुटबलका मनीष डाँगी, क्रिकेटका देव खनाल र भारोत्तोलनका हेमन्त पाल युवा वर्ष खेलाडीको अवार्ड जित्ने पछिल्ला तीन नाम हुन् ।
राजवंशीको नेतृत्वमा रहेका १५ सदस्यीय कार्यसमितिका सबैले २०६१ सालमा जनही एक हजार रुपैयाँ योगदान गरेर २५ हजार रुपैयाँमा अवार्ड सम्पन्न गरेको थियो । करातेका पुराना अभियन्ता विष्णुबहादुर कार्कीले बानेश्वरस्थित बेइजिङ डक रेस्टुराँमा भेन्यु मिलाइदिएका थिए । २०६१ मा अवार्ड ‘रिभाइभ’ हुँदा पुरुष र महिलाको विधामा मात्र पुरस्कार प्रदान गरिएको थियो । त्यसपछिका वर्षदेखि युवा वर्ष खेलाडीको विधामा अवार्ड दिन थालिएको हो ।

फुटबलका प्रदीप महर्जन यो अवार्ड पाउने दोस्रो व्यक्ति हुन् । वर्ष २०६१ सालमा गरेको प्रदर्शनका आधारमा एन्फा एकेडेमीका पहिलो ब्याचका मिडफिल्डर प्रदीपले २०६२ सालमा भएको अवार्डमा यो पुरस्कार प्राप्त गरेका थिए । सन् २००८ मा करिअरको शिखरमा रहँदा गम्भीर घाइते भएका प्रदीपले त्यसपछि बलियो कमब्याक गर्नै सकेनन् । प्रदीपपछि क्रिकेटका कनिष्क चौगाईं सम्मानित भए । पारसभन्दा अघि क्रिकेटमा नाम कहलिएका युवा प्रतिभा थिए कनिष्क । तर, सुनौलो भविष्यको खोजीमा कनिष्क अमेरिका पलायन भए ।
तेक्वान्दोकी आयशा शाक्य २०६४ सालमा युवा वर्ष खेलाडी घोषित भइन् । आयशा आफ्नो पुस्ताकी सबैभन्दा सफल खेलाडी हुन् । दक्षिण एसियाली खेलकुद (साग)मा तीन पटक आयशाले स्वर्ण पदक जितिन् । सन् २००६ मा उनले दोहा एसियाली खेलकुदमा कांस्य पदक जितेकी थिइन् ।
आयशापछि २०६५ सालमा पारसले यो सफलता हासिल गरेका थिए । २०६६ सालमा एथलेटिक्सकी केशरी चौधरी सम्मानित भइन् । केशरी एथलेटिक्स, क्रिकेट र ब्याडमिन्टनकी पारखी थिइन् । केशरीपछि उसुकी विनिता महर्जनलाई सम्मान गरियो । विनिता सन् २०१० ढाका साग खेलकुदमा नेपालको स्वर्ण पदकको खाता खोल्ने खेलाडी थिइन् ।
यस वर्ष अवार्ड पहिलो पटक काठमाडौं उपत्यका बाहिर हुँदैछ । पोखरामा हुने यस २२औं संस्करणमा १० विधामा अवार्ड प्रदान गरिँदैछ ।
राष्ट्रिय महिला क्रिकेट टोलीकी पहिलो कप्तान नेरी थापा २०६८ सालमा विजेता भइन् । नेरी पनि ब्याडमिन्टन र क्रिकेटमा एकै समय राम्रो प्रभाव पार्न सफल खेलाडी हुन् । २०६९ मा क्रिकेटरले नै निरन्तरता पायो । राष्ट्रिय यु-१९ टोलीका कप्तान पृथु बाँस्कोटा अवार्ड जित्ने दोस्रो पुरुष क्रिकेटर बने । त्यसपछि उसुकी चाहना बम्जन लामा र फुटबलका विमल घर्तीमगरले यो अवार्ड जितेका छन् ।
विनासकारी भूकम्पका कारण २०७२ सालमा अवार्ड रोकियो । अर्को वर्ष विमलका सहकर्मी अञ्जन विष्ट विजेता बने । त्यसपछि क्रमशः जुडोकी मनिता श्रेष्ठ प्रधान, क्रिकेटका सन्दीप लामिछाने, एथलेटिक्सका अजितकुमार यादव, गल्फका सुवास तामाङले अवार्ड जिते ।
कोभिड महामारीका कारण २०७७ सालमा खेलकुदका कुनै पनि गतिविधि नुहँदा २०७८ मा आयोजना भएको अवार्डमा पछिल्लो दशकको उत्कृष्ट प्रदर्शनका आधारमा खेलाडी पुरस्कृत गरियो । यही कारण त्यस वर्ष युवा विधा समावेश गरिएन ।
फुटबलका मनीष डाँगी, क्रिकेटका देव खनाल र भारोत्तोलनका हेमन्त पाल युवा वर्ष खेलाडीको अवार्ड जित्ने पछिल्ला तीन नाम हुन् । युवा वर्ष खेलाडी विधाबाट सम्मानित यी सबै खेलाडीले अवार्डको त्यो गरिमालाई न्याय गरेका छन् ।
‘हामीले युवा खेलाडीलाई प्रोत्साहन गर्ने प्रमुख उद्देश्यसहित सुरु गरेको युवा वर्ष खेलाडीको विधा थपेका थियौं,’ पूर्व अध्यक्ष राजवंशी भन्छन्, ‘अवार्ड विजेता खेलाडीले बितेको दिनमा राष्ट्रको गौरव बढाएका छन् । यो अवार्डलाई न्याय गरेका छन् ।’
यस वर्ष अवार्ड पहिलो पटक काठमाडौं उपत्यका बाहिर हुँदैछ । पोखरामा हुने यस २२औं संस्करणमा १० विधामा अवार्ड प्रदान गरिँदैछ ।
‘६१ सालमा हामीले तीन विधामा मात्र अवार्ड दिएका थियौं । हरेक संस्करण विधा क्रमशः थप्दै जाने हाम्रो उद्देश्य हो,’ राजवंशीले भने, ‘हामीलाई अवार्डका विधा अझ थप्न रहर छ । तर, प्रत्यक्ष प्रसारणको सीमितता र आर्थिक पाटोले गर्दा हामी स्थिर रहन बाध्य छौं ।’
सबै विधाका महत्व छुट्टै छ । सबै विजेताले गरेका मिहिनेतको कदरमा समानता छ । तर, युवा वर्ष खेलाडी केही खास पक्कै छ ।