काठमाडौं । सिजिजी स्पोर्टस हबको अयाजोनामा दोस्रो चंग्या गुरुङ अन्तर्राष्ट्रिय बक्सिङ र मुवाँ थाइ च्याम्पियनसिप फागुन ९ र १० गते हुने भएको छ ।
बक्सिङमा नेपालसँगै भारत र भुटानका खेलाडीले सहभागिता जनाउने आयोजक समितिका संयोजक दोर्जे घलेले बिहीबार आयोजन भएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
बक्सिङ प्रतियोगिताका प्राविधिक निर्देशक दीपक महर्जनका अनुसार ४४ खेलाडीले प्रस्पिर्धा गर्नेछन् । पुरुष एलिट बक्सिङमा ५४, ५७ र ६० केजी तथा एलिट महिलामा ५७ केजीमा प्रतिस्पर्धा हुनेछ ।
एमेच्योरको पुरुषमा ५०, ५५ र ६० केजी तथा महिलामा ५० र ५५ केजीमा प्रतिस्पर्धा हुनेछ । यसैगरी युथमा पुरुषतर्फ ६० केजी तथा महिलातर्फ ५७ र ६० केजीमा प्रतिस्पर्धा हुनेछ । जुनियरतर्फ पुरुष ५४ र ६३ केजी समावेश गरिएको छ ।
यता मुवाँ थाइमा २१ टोलीका कुल ७६ खेलाडी सहभागी हुने संयोजक संजय राईले बताए ।
प्रो पुरुषतर्फ ४५, ५१, ५५ र ६५ केजी तथा महिलातर्फ ५१ केजीमा प्रतिस्पर्धा हुनेछ । यस्तै सेमीप्रोमा पुरुषतर्फ ५०, ५५, ६०, ६५, ७० र ७५ तथा महिलातर्फ ५०, ५५ र ६० केजी समावेश गरिएको छ ।