काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेशविरुद्ध ६० रनको अग्र्रता लिएको छ ।
जय ट्रफी मेन्स एलिट कपको बिहीबारबाट सुरु लिग चरणको अन्तिम खेलको पहिलो इनिङमा सामान्य अग्रता लिएको हो । पुलिसले पहिलो दिनको खेल सकिदा ४ विकेट गुमाएर २ सय ४५ रन बनाएको छ ।
पुलिसका दिल्शाद अलि र आरिफ शेख अविजित रुपमा क्रिजमा छन् । ओपनर कुशल भुर्तेल ९६ तथा शंकर राना ४८ रनमा आउट भए ।
बिहान टस जितेर पुलिसले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको बागमतीले ५३ दशमलब ५ ओभरमा अल आउट हुदै १ सय ८५ रनमात्र बनाउँन सक्यो । बागमतीका लागि विपिन आचार्यले ७५ बलमा अविजित ४६ रनको इनिङ खेले । ८४ रन जोड्दा ८ विकेट गुमाएर संकटमा पुगेको बागमतीका विपिन र गौतम केसीले नवौं विकेटका लागि ५१ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याए ।
गौतमले २१ रन बनाए । बागमतीको माथिल्लो क्रम धराशाही भएको इनिङमा तेस्रो नम्बरमा आएर इशान पाण्डे ४१ रनमा आउट भए । सुर्य तामाङ २४ तथा कप्तान सन्दीप लामिछाने १४ रनमा आउट भए ।
पुलिसका लागि करण केसीले ४, ललित राजवंशीले ३ तथा सागर ढकाल, राशिद खान र क्शल भुर्तेलले समान १ विकेट लिए । प्रतियोगितामा गत संस्करणको प्रधानमन्त्री कपको शीर्ष चार टोलीको सहभागीता रहेको छ । दुईदिवसीय ढाँचामा भइरहेको प्रतियोगिताको शुक्रबार सकिने लिग चरणबाट शीर्ष २ मा रहने टोलीबीच फाइनल हुनेछ । फाइनल खेल भने तीनदिवसीय ढाँचामा हुनेछ ।
पुलिस जय ट्रफीको साबिक विजेता हो ।
