काठमाडौं । न्युरोड टिम (एनआरटी)सँग १-१ को बराबरी खेलेपछि प्लानिङ ब्वाइज युनाइटेडले एन्फा राष्ट्रिय लिगमा शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्लानिङले पहिलो हाफमा लिएको अग्रतालाई जोगाउन सकेन । कप्तान प्रतापसिंह राईले निर्धारित हाफ सकिन पाँच मिनेट बाँकी छँदा गोल गरेका थिए । इन्जुरी समयमै टिमोथी ओकेरेकेले एनआरटीलाई खेलमा फर्काए ।
एनआरटीलाई हराएको भए प्लानिङले शीर्ष स्थानमा २ अंकको स्पष्ट अग्रता लिन्थ्यो । हाल ८ खेलमा प्लानिङ १७ अंकका साथ दोस्रो स्थानमा छ । एपिएफ एफसी ७ खेलमा १९ अंकसहित शीर्ष स्थानमा छ ।
यो नतिजासँगै आर्मीले पनि तेस्रो स्थानमा उक्लिने अवसर गुमायो । अहिले ८ खेलमा १५ अंक जोड्दै एनआरटी पाँचौं स्थानमा छ ।
दिनको पहिलो खेलमा नेपाल पुलिस क्लबले नव जनजागृति क्लबविरुद्ध ७–० को सानदार जित हासिल गर्यो । अन्तिम खेल साँझ ६ बजे हुनेछ । यो खेलमा आठौं स्थानको त्रिभुवन आर्मी फुटबल क्लब र नवौं स्थानको जावलाखेल युवा क्लब आमने-सामने हुनेछन् । जितले दुबैलाई एक स्थान माथि पुर्याउनेछ ।
