काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा राष्ट्रिय लिगमा नव जनजागृति क्लबविरुद्ध ७–० को सानदार जित हासिल गरेको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको पहिलो खेलमा पुलिसलाई लिगकै दोस्रो जित दिलाउन धिरेन्द्र बहादुर शाह र सञ्जीव लामाले समान दुई गोल गरे । त्यस्तै दशरथ गिरी, भरत शाह र विजय उरानले पनि स्कोरसीटमा आफ्नो नाम लेखाए । पहिलो हाफमा पाँच गोल सम्भव भएका थिए ।
जितसँगै पुलिस ७ खेलमा ७ अंक जोड्दै अंकतलिकाको ११औं स्थानमा उक्लिएको छ । समान खेलमा जन जागृतिले अंकको खाता खोल्न सकेको छैन ।

दिनको दोस्रो खेलमा दिउँसो २ बजे न्युरोड टिम (एनआरटी)ले प्लानिङ ब्वाइज युनाइटेडसँग खेल्नेछ । प्लानिङलाई हराउँदै एनआरटीसँग तेस्रो स्थानमा उक्लिने अवसर छ । एनआरटी अहिले १४ अंकका साथ पाँचौं स्थानमा छ । १६ अंकसहित तेस्रो स्थानको प्लानिङलाई भने शीर्ष स्थानमा उक्लिने मौका छ ।
अन्तिम खेल साँझ ६ बजे हुनेछ । यो खेलमा आठौं स्थानको त्रिभुवन आर्मी फुटबल क्लब र नवौं स्थानको जावलाखेल युवा क्लब आमने–सामने हुनेछन् । जितले दुबैलाई एक स्थान माथि पुर्याउनेछ ।
