काठमाडौं । सेमिफाइनल सम्भावना कायमै राख्नका लागि जित्नै पर्ने खेलमा बिहीबार भारतले जिम्बाब्वेसँग खेल्दैछ ।
भारत र श्रीलंकामा भइरहेको विश्वकपको सुपर ८ अन्तर्गत घरेलु टोलीलाई जिम्बाब्वेमाथी फराकिलो जितको दबाब रहेको छ । दुईबीचको खेल भारतको चेन्नईमा रहेको एमए चिदम्बरम क्रिकेट रंगशालामा बेलुका ७ः१५ मा खेल्दैछन् ।
यस खेलमा फराकिलो जितको खोजीमा रहेको भारतका लागि आजै हुने पहिलो खेलको नतिजाले धेरै प्रभावित पार्ने छ । आजको पहिलो खेलमा पहिलो खेलमा दक्षिण अफ्रिकाले वेस्ट इण्डिजको समाना गर्दैछ । दुईबीचको खेल अहमदाबादमा दिउँसो ३ः१५ बाट सुरु हुदैछ ।
यस खेलमा वेस्ट इण्डिज विजयी भएमा भारतको सेमिफाइनल सम्भावना अंक गणितीय रुपमा मात्र रहनेछ । यदी दक्षिण अफ्रिका विजयी भएमा बाँकी दुवै खेलमा भारतलाई फराकिलो जितको आवश्यकता पर्नेछ ।
वेस्ट इण्डिज र दक्षिण अफ्रिकाबीचको खेलमा जित्ने टोलीले सेमिफाइनलमा स्थान लगभग पक्का गर्नेछ । बुधबार राती भएको खेलमा न्युजिल्याण्डसँग ६१ रनले पराजित हुदै श्रीलंका विश्वकपबाट बाहिरिएको छ । समूह एक बाट इङ्ल्याण्डले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।
