काठमाडौं । त्यसो त सेरेना विलियम्सले टेनिसबाट संन्यास लिइसकेकी छन् । अहिले पनि उनले पुनरागमन गर्छिन भन्ने हल्ला सेलाएको छैन । त्यो हल्ला झन बढेको छ भन्दा हुन्छ । यस्तो किन त ? सबैभन्दा पहिले पृष्ठभूमितिर जानु ठीक हुन्छ । अमेरिकी खेलाडी सेरेनाले अन्तर्वार्तामा आफू फेरि कोर्टमा फर्कन लागेको पनि बताएकी थिइन । त्यतिमात्र होइन, व्यवसायिक टेनिस खेल्न उनले केही आवश्यक प्रक्रिया पनि मिलाएकी छिन् ।
अहिलेसम्म २३ ग्रान्ड स्लाम उपाधि जितेकी सेरेनाले सन् २०२२ को यूएस ओपनपछि संन्यास लिएकी थिइन् । पछिल्लो डिसेम्बरमा यी ४४ वर्षीय खेलाडीले डब्लूटीएमा केही कागजात भरेकी थिइन् । त्यसको उद्देश्य एक प्रकारले फेरि कोर्टमै फर्कने इच्छा नै हो ।
एकातर्फ सेरेना भन्छिन्, ‘अहिलेका लागि आफ्नो खेलमा फर्कने कुनै योजना छैन, तर त्यही बेला के पनि भन्छिन भने फेरि खेल्ने सम्भावनालाई ठ्याक्कै अस्वीकार पनि गर्न सकिन्न ।’
सेरेनाले सबै प्रकारको हल्लालाई मलजल दिने किसिमले भन्छिन्, ‘म पनि भन्न सक्दिन“, यो नै हुन्छ भनेर । हेरौ के हुनेछ ।’ सात पटककी विम्बल्डन च्याम्पियन सेरेना भन्छिन्, सबै प्रकारको सम्भावना खुला छ ।
डब्लूटीएमा केही कागजात भर्दा दुई सन्तानकी आमा सेरेनाले लेखेकी थिइन्, पेसा हाउसवाइफ अनि काम घरमै बस्ने, बस्ने बच्चा स्याहार्ने । डब्लूटीएको नियमअनुसार फेरि मैदानमा फर्कने अनुमति पाउन पनि कम्तीमा ६ महिनाको प्रक्रिया पूरा गर्नुपर्छ ।
अहिलेका लागि सेरेना कुनै प्रकारको टेनिसमा व्यस्त भने छैनन् । सायद उनको उद्देश्य डबल्स खेल्ने हुनसक्छ । यस्तो किनभन्दा सिंग्ल्समा भन्दा डबल्समा खेल्दा त्यति धेरै मिहिनेत चाहिन्न । फेरि मूल प्रश्न, सेरेनाको यो पुनरागमनको हल्ला किन चलिरहेको हो त ? धेरैलाई के लाग्छ भने अहिले विश्व महिला टेनिसलाई सेरेनाजस्तै स्टार चाहिएको छ । कुनै पनि खेल चर्चामा रहन ठूला स्टार खेलाडी पनि चाहिन्छ ।त्यसैले विम्बका रूपमा सेरेनाको हल्ला चलेको हुनुपर्छ । अहिलेका लागि महिला विश्व टेनिसकी सबैभन्दा ठूला स्टार हुन्, आर्यना सबालेन्का । सर्बियाली उनले पनि एकपछि अर्को ग्रान्ड स्लाम जितेकी छिन्, तर उनले त्यति चर्चा र स्टारडम पाएकी छैनन्, जति सेरेनाले पाउने गर्थिन् । स्वयं सबालेन्का पनि मान्छिन्, सेरेना जस्तो खेलाडी चाहिन्छ नै । उनी मान्छिन्, सेरेना कोर्टमा फर्किन भने पूरा खेललाई फाइदा हुन्छ, किनभने उनको आगमनले चर्चा सुरु हुन्छ ।