काठमाडौं । मुम्बईमा नेपालसँग ट्वान्टी २० विश्वकप खेल्ने तयारीमा रहेको वेष्ट इन्डिजले लगातार दुई ट्वान्टी २० शृंखला गुमाएको छ ।
वेष्ट इन्डिज यसपटक दक्षिण अफ्रिकासँग तीन खेलको शृखलामा २–० ले पछि परेको हो । दोस्रो ट्वान्टी २० मा पनि वेष्ट इन्डिज घरमै दक्षिण अफ्रिकासँग ७ विकेटले पराजित भयो । अब, तेस्रो खेल शनिबार हुनेछ ।
यसअघि वेष्ट इन्डिजले अफगानिस्तानसँग तीन खेलको ट्वान्टी २० शृखला खेलेको थियो । त्यहाँ वेष्ट इन्डिज सुरुका दुई खेलमा पराजित भयो । तेस्रो खेल जितेपनि टोली शृंखला भने २–१ ले गुमाउन पुगेको थियो ।
अब, वेष्ट इन्डिज यो शृंखलापछि विश्वकप खेल्न मुम्बई पुग्नेछ । उसले नेपालसँग वानखडे रंगशालामा फेब्रुअरी १५ मा खेल्नेछ ।
सेन्टुरिओनमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको वेष्ट इन्डिजले चार विकेट गुमाउँदै दुई सय २२ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा दक्षिण अफ्रिकाले १७.३ ओभरमै तीन विकेट गुमाएर जित निकाल्यो ।
दक्षिण अफ्रिकाका ओपनर क्विन्टर डि ककले ४९ बलमा एक सय १५ रन बनाए । उनले ६ चौका र १० छक्का हिर्काएका हुन् । यसअघि उनले ४३ बलमै सतक बनाएका थिए । अर्धसतक भने २५ बलमा बनाएका हुन् । रायन किकल्टनले अविजित ७७ रनको योगदान गरेका हुन् ।
यसअघि वेष्ट इन्डिजको लागि सिमरन हेटमायरले सर्वाधिक७५ रन बनाएका थिए । शेरफन रुथर्फाफोर्डले ५७ रन तथा ब्रान्डन किङले ४९ रन बनाएका हुन् ।
