काठमाडौं । भ्रमणकारी टोली न्युजिल्यान्डले भारतमा पहिलो पटक एकदिवसीय शृंखला जितेको छ । आइतबार इन्डोरमा भएको तेस्रो खेलमा न्युजिल्यान्ड ४१ रनले विजयी हुँदै शृंखला २–१ ले कब्जा गर्याे ।
यसअघि पहिलो खेल भारतले ४ विकेटले जितेको थियो । त्यसपछि कमब्याक गर्दै दोस्रो खेल न्युजिल्यान्डले ७ विकेटले जितेको हो ।
पहिलो ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेट गुमाउँदै तीन सय ३८ रनको लक्ष्य दिएको थियो । भारत ४६ ओभरमा मात्र दुई सय ९६ रन बनाउँदा अलआउट भयो । विराट कोहलीले एक सय ८ बलमा एक सय २४ रन बनाएका थिए । न्युजिल्यान्डको लागि क्रिष्टियन क्लार्क र ज्याक फाल्क्सले समान तीन विकेट लिएका थिए ।
यसअघि डेरिन मिचेल र ग्लेन फिलिप्सले न्युजिल्यान्डको लागि सतकीय इनिङ्स खेलेका थिए । प्लेयर अफ दि सिरिज भएका डेरिनले एक सय ३७ रन बनाएका हुन् । फिलिप्सले एक सय ६ रन बनाए । दुई खेलाडीले दुई सय १९ रनको साझेदारी गरेका थिए ।
