काठमाडौं । कर्णाली याक्स स्पोर्टस प्रालीले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि भारतका प्रियाङ्क किरित पन्चाललाई अनुबन्ध गरेको छ ।
कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले ब्याटिङक्रम बलियो बनाउन प्रियाङ्कलाई अनुबन्ध गरेको बताए । ‘ब्याटिङ बलियो बनाउने योजनासहित हामीले रणजी ट्रफी खेलिसकेका प्रियाङ्कलाई अनुबन्ध गरेका हौं,’ निर्देशक घिमिरेले भने, ‘उनको आगमनपछि हाम्रो ब्याटिङ झनै बलियो हुने विश्वास छ।’
उनी कर्णाली भित्रिने चौथो विदेशी खेलाडी हुन् । यसअघि कर्णालीले अस्ट्रेलियाका विलियम बोसिस्टोसँग सम्झौता नवीकरण गर्दा मार्क वाट र म्याक्स ओ’ डाउडलाई नयाँ खेलाडीका रूपमा भित्र्याएको थियाे । वाट र डाउडले पहिलो पटक एनपिएल खेल्दैछन् ।
ओपनर प्रियाङ्कले पछिल्लो पटक भारतीय टोलीबाट हङकङ सुपर सिक्सेस खेलेका थिए । ३५ वर्षीय खेलाडीले गुजरातबाट रणजी ट्रफी खेल्ने गर्छन् । उनले ५९ टी-ट्वान्टी खेलमा ९ अर्धसतकसहित १ हजार ५२२ रन बनाएका छन् ।
कर्णालीले दोस्रो सिजनमा पनि ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ ।
यसैगरी गत सिजन दोस्रो क्वालिफायरसम्म पुगेको कर्णालीले मार्की सोमपाल कामीसहित गुल्शनकुमार झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, अर्जुन घर्ती, दीपेन्द्र रावत र युनिशविक्रम ठकुरीलाई दोस्रो संस्करणका लागि पनि निरन्तरता दिएको छ । यसैगरी टोलीले मिनी अक्सनबाट पवर सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
जनकपुर बोल्टस पहिलो सिजनको च्याम्पियन हो भने सुदूरपश्चिम रोयल्स साविक उपविजेता हो । यसैगरी कर्णालीसँगै पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले साविक विजेता र उपविजेतासँगै दोस्रो सिजनको उपाधिका लागि भिड्ने छन् ।
एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ । कर्णालीले मंसिर २ मा चितवन राइनोजसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
