काठमाडौं । इङ्लिस अलराउन्डर ड्यानियल डाउथवेटले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका खेल्ने भएका छन् ।
पोखराले बुधबार सामाजिक सञ्जालमामार्फत डाउथवेटलाई अनुबन्ध गरेको जानकारी दियो ।
उनी पोखरा भित्रिने तेस्रो विदेशी खेलाडी हुन् । टोलीले यसअघि इङ्लिस विकेटकिपर एडम रोसिङटन र बार्बाडोसका अलराउन्डर रेमन रेइफरलाई भित्र्याएको थियो ।
डाउथवेटले ७६ टी-ट्वान्टी खेलमा तीन अर्धशतकसहित ८५६ रन बनाएका छन् । यसैगरी उनको नाममा ७७ विकेट पनि छ ।
डाउथवेटले पहिलो सिजनमा काठमाडौं गोर्खाजको प्रतिनिधित्व गरेका थिए । उनले पहिलो सिजनका चार खेलमा ४२ रन बनाउनुका साथै दुई विकेट लिएका थिए ।
कुशल भुर्तेल मार्की रहेको पोखराले सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, विपिन खत्री, तृतराज दास र दिनेश अधिकारीलाई टोलीमै राख्ने निर्णय गरेको छ ।
गत संस्करण सातौं स्थानमा रहेको पोखराले मिनी अक्सनबाट अर्जुन कुमाल, अभिषेक तिवारी, कृष्ण पौडेल र सन्दीप केसीलाई अुनबन्ध गरेको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यस सिजन पनि पोखरासहित साविक विजेता जनकपुर बोल्ट्स, साविक उपिवजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।
एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ । पोखराले मंसिर २ गते विराटनगर किंग्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
