काठमाडौं। फोलिड्रमले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ‘कन्फिडेन्स’ पार्टनरका रूपमा साथ दिने भएको छ ।
बिहीबार सम्झौतापत्रमा फोलिड्रमकी चिफ कमर्सियल अफिसर (सिसीओ) पल्लवी बाजोरिया र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्काले हस्ताक्षर गरे ।
सम्झौतापछि सुदूरपश्चिमका सिइओ प्रकाश खड्काले देशकै ठूलो कपाल प्रत्यारोपण सेवा प्रदायक फोलिड्रमसँग सहकार्य गर्न पाउँदा टिमलाई थप ऊर्जा मिल्ने बताए ।
यसैगरी, फोलिड्रमकी सिसीओ बाजोरियाले ‘कन्फिडेन्स’ पार्टनरका रूपमा यो सहकार्य गर्न पाउँदा निकै उत्साहित रहेको बताउँदै यो हकार्यले संस्थालाई काठमाडौं बाहिर विस्तार हुन पनि ठूलो प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन् ।
जगत टमटाको प्रशिक्षणमा रहेको सुदूरपश्चिमले मार्की दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको छ । यसैगरी टोलीले मिनी अक्सनबाट दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, टेक रावत, दीपेन्द्र थापालाई अनुबन्ध गरेको थियो ।
टोलीले विदेशी खेलाडीका रूपमा अस्ट्रेलियाका क्रिस लिन र जोस ब्राउन, न्युजिल्यान्डका स्कट कुगेलेइन तथा अमेरिकाका हर्मित सिंहलाई भित्र्याएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यस सिजन पनि सुदूरपश्चिमसहित साविक विजेता जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्ने छन् ।
एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।
