काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि नायक निखिल उप्रेती ‘गुडविल एम्बासडर’ बनाएको छ ।
यो साझेदारीले खेल, कला र प्रेरणाको शक्तिलाई एकै ठाउँमा जोड्दै जनकपुर बोल्ट्सको ब्रान्ड र पहिचानलाई अझ सशक्त बनाउने विश्वास गरिएको छ ।
ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुरले चन्द्रागिरीबाट प्याराग्लाइडिङ स्टन्ट गराउदै निखिललाई ‘गुडविल एम्बासडर’ घोषणा गरेको थियो ।
‘गुडविल एम्बासडर’ भएपछि निखिलले यो सहकार्यका लागि उत्साहित रहेको प्रतिक्रिया दिए । ‘जनकपुर बोल्ट्स केवल एउटा टोली मात्र होइन, यो जनकपुर र सम्पूर्ण मधेशको गौरव हो । यस टोलीसँग जोडिन पाउनु मेरो लागि सम्मानको विषय हो,’ निखिलले भने ।
जनकपुर बोल्ट्सका जनरल म्यानेजर निरोज खतिवडाले निखिललाई टोलीसँग जोड्न पाउनु गर्वको विषय रहेको बताए । ‘निखिल उप्रेती नेपाली युवाहरूका लागि साहस र दृढताको प्रतीक हुन् । उनको देशप्रेम, अनुशासन र सकारात्मक ऊर्जा हाम्रो टोलीको मूल्य र दर्शनसँग मेल खान्छ । हामी उहाँलाई हाम्रो गुडविल एम्बासडर रूपमा स्वागत गर्न गर्व महसुस गर्छौं,’ खतिवडाले भने ।
शिवनारायण चन्द्रपालको नेतृत्वमा रहेको जनकपुर बोल्ट्सले अहिले आफ्नो प्रशिक्षण क्याम्प भारतको चेन्नई सुपर किंग्स एकेडेमीमा सञ्चालन गरिरहेको छ ।
मार्की आसिफ शेखसहित अनिलकुमार साह, ललितनारायण राजवंशी, किशोर महतो, रुपेश सिंह र तुलबहादुर थापामगरलाई दोस्रो सिजनमा पनि निरन्तरता दिएको जनककपुले मिनी अक्सनबाट मयन यादव, आदित्य महता र विकास अग्री र सचिन भट्टलाई अनुबन्ध गरेको थियो ।
यसैगरी टोलीले विदेशी खेलाडीका रूपमा श्रीलंकन मुलका अमेरिकन क्रिकेटर लाहिरु मिलान्था र दक्षिण अफ्रिकाका वायने पार्नेललाई भित्र्याएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गतवर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यस सिजन पनि जनकपुरसँगै साविक उपाविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।
