काठमाडौं । न्युक्यासल युनाइटेडले युइएफए च्याम्पियन्स लिगमा बुधबार एथलेटिक्स क्लब बिल्बाओविरुद्ध २-० को सहज जित दर्ता गरेको छ ।
जितसँगै चार खेलमा ९ अंक जोडेको न्युक्यासल ९ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ । पराजित एथलेटिक्स समान खेलबाट तीन अंकका साथ २७औं स्थानमा छ ।
सेन्ट जेम्स पार्कमा घरेलु टोली न्युक्यासललाई जित दिलाउन ड्यान बर्न र जोएलिन्टनले गोल गरे ।
खेलको ११औं मिनेटमा बर्नको गोलमार्फत न्युक्यासलले अग्रता लिएको थियो । उनले काइरन ट्रिपियरको पासलाई पोस्टको दिशा दिए ।
जोएलिन्टनले ४९औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । यस पटक हार्वे बार्न्सले गोलको अवसर सिर्जना गरेका थिए ।
बुधबारै सम्पन्न अन्य खेलमाा पाफोसले भियारियाल, एट्लान्टाले मार्से र लिभरकुसनले बेन्फिकालाई समान १-०, म्यानचेस्टर सिटीले डर्टमन्डलाई ४-१, इन्टर मिलानले काइरातलाई २-१ तथा गालातासारेले आयाक्सलाई ३-० ले पराजित गरे । यसैगरी बार्सिलोनाले क्लब ब्रुजलाई ३-३ तथा चेल्सीले काराबागलाई २-२ को बराबरीमा रोके ।
