काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनका लागि काठमान्डौं गोर्खाजले शिखर इन्स्योरेन्सलाई गोल्ड पार्टनरको रूपमा भित्राएको छ ।
बिहीबार सम्झौतापत्रमा गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी निर्देशक दीपप्रकाश पाण्डेले हस्ताक्षर गरेका थिए । दुवैले आर्थिक पक्ष भने खुलाएका छैनन् ।
सम्झौता अनुसार काठमाडौंको जर्सीको दुवै पाखुरामा शिखर इन्स्योरेन्सको लोगो हुनेछ ।
गत वर्ष सम्पन पहिलो सिजनमा पनि शिखर काठमाडौंको सह-प्रायोजक थियो । काठमाडौंले यसअघि नै मुख्य प्रायोजकको रुपमा वर्ल्ड लिंकसँग सम्झौता गरिसकेको छ । साथै टोलीको अफिसियल हस्पिटालिटी पार्टनरमा टुलिप होटल छ ।
काठमाडौंले मार्की करण केसीसहित भीम सार्की, शाहव आलम रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई दोस्रो सिजनमा पनि निरन्तरता दिएको छ ।
यसैगरी मिनी अक्सनबाट मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापालाई भित्र्याएको थियो ।
काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा एनपिएलको दोस्रो सिजन खेल्दैछ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यस सिजन पनि काठमाडौंसहित साविक विजेता, जनकपुर बोल्ट्स, साविक उपवजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्स उपाधिका लागि भिड्नेछन् ।
एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।
 
  
  
  
  
  
  
  
  
 
 
  
  
  
  
  
  
  
  
  
  
  
  
  
 